१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

समृद्धिका लागि आर्थिक अनुसन्धान महत्वपूर्ण हुन्छः मन्त्री पौडेल



काठमाडौँ, १६ चैत । शिक्षामन्त्री धनीराम पौडेलले मुलुकको समृद्धिका लागि आर्थिक क्षेत्रमा गरिने अनुसन्धान महत्वपूर्ण हुने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयस्थित आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित एक दिवशीय गोष्ठीमा उहाँले देशको विकास र समृद्धिका लागि राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री पौडेलले शिक्षा क्षेत्रमा गरिनुपर्ने परिवर्तनलाई राज्यले आफ्नो दायित्व लिएर अगाडि बढिरहेको बताउँदै व्यावसायिक शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने र त्यसले रोजगारी एवं उत्पादन वृद्धि गर्ने धारणा व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले सरकारले शिक्षाको विकासका लागि ठूलो लगानी गरेको भए पनि अनुसन्धानमूलक क्षेत्रको विकास हुन नसकेकाले अब त्यस्ता केन्द्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
सोही विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, केन्द्रका कार्यकारी निर्देशक अरुणकुमार ठाकुर, कार्यक्रमका संयोजक रामकुमार फुयाँललगायतले मुलुकका प्राकृतिक, स्रोत, साधनलाई सही सदुपयोग गर्ने गरी नीति तथा योजना बनाइनुपर्नेमा जोड दिए ।
सो केन्द्रले अहिलेसम्म करिब सात सय आर्थिक विकाससम्बन्धी प्रतिवेदन निर्माण गरी सरकारलाई बुझाएको छ । तीमध्ये १८ वटा महत्वपूर्ण प्रतिवेदन सरकारका विभिन्न नीति तथा कार्यक्रममा कार्यान्वयन भइसकेको र अरु कार्यान्वयका चरणमा रहेको सो अवसरमा केन्द्रले जनाएको छ । सो केन्द्र सन् १९६९ मा स्थापना भएको हो ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ००:००