८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

स्थानीय तह निर्वाचनको लागि मधेसी युवाको आकर्षण



महेन्द्रनगर (धनुषा०, १६ चैत । वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सडक सङ्घर्षमा रहे पनि चुनाव सुरक्षामा सहभागिता जनाउन मधेसका युवा तयार देखिएका छन् ।
म्यादी प्रहरी भर्नामा मधेसी युवामा देखिएको उत्साहले चुनावी माहोलको सङ्केत गरेको हो । संविधान संशोधन नगरी सरकारले जबर्जस्ती स्थानीय तहको निर्वाचन गराए त्यसको सशक्त प्रतिकार गर्ने मोर्चाले चेतावनी दिइरहेको छ भने चुनावकै लागि खोलिएको म्यादी प्रहरी भर्नामा जान नदिन मधेसका युवालाई रोक भने लगाएको छैन ।
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरीमा भर्नाका लागि तराई मधेसका युवा अहिले तँछाडमछाड गरिरहेका छन् । नेता विरोधमा लागे पनि स्थानीय युवा भने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि तयार छन् ।
आसन्न निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा प्रदेश नं २ मा पर्ने धनुषासहितका जिल्लाका मधेसी युवाको विशेष आकर्षण देखिएको छ । नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म खोलेको म्यादी प्रहरीको भर्नामा पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका मधेसी युवाले उत्साहित भएर आवेदन दिएका छन् ।
बेरोजगार युवाले म्यादी प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन थालेका हुन् । प्रहरी जवानसरहको ५५ दिनको लगभग रु ५० हजार सुविधा पाउने र प्रमाणपत्र समेत पाइने भएका कारण आवेदन दिन लागिएको सम्बद्ध युवाले बताएका छन् ।
चैत ११ गतेदेखि १५ गतेसम्म एक हजार ५४२ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए । यादवका अनुसार दर्ता प्रक्रिया आगामी बिहीबारसम्म चल्ने भएकाले यो सङ्ख्या निर्धारित कोटाभन्दा दोब्बर हुनसक्छ । गत संविधानसभा निर्वाचनताका धनुषामा एक हजार ५३३ म्यादी प्रहरी भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सोही सङ्ख्यालाई आधार मानी भर्ना प्रक्रिया अगाडि बढाएको हो ।
म्यादी प्रहरीका लागि आवेदन दिँदै गरेका क्षीरेश्वरनाथ नपा ५ महेन्द्रनगरका युवक जीवछ साहले देश र समाजको सेवा गर्न म्यादीमा भर्ना हुन आएको बताउनुभयो । उनले भने “छ महिने मधेस आन्दोलनले कसैलाई केही फाइदा भएन, अब हुने आन्दोलनले पनि केही हुन्छ जस्तो लाग्दैन । त्यसैले देश र समाजका लागि सेवा गर्न म्यादी प्रहरीमा भर्ना हुन लागेको हुँ ।”
धनुषाका अधिकारीवादी युवा वीरेन्द्र कर्णले म्यादी प्रहरी भर्नामा युवामा देखिएको उत्साहले मधेसमा पनि चुनावको लागि वातावरण बन्दै गएको सङ्केत देखिएको बताए । कर्णले भने, “अहिले चुनावको विरोधमा देखिएका मधेसी दल पनि चुनावकै लागि भनेर ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्, भित्रभित्रै उनीहरूले उम्मेदवारबारे छलफल चलाइरहेका छन् ।” मधेसमा ब्याप्त बेरोजगारी एवम् आर्थिक अभावका कारण म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण बढेको उनको भनाइ छ ।
“मधेसमा रोजगारीको चरम समस्या छ । दुई–चार पैसा भइहाल्छ कि भनेर यहाँका युवा म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन्”, सद्भावनाका इन्द्रकान्त झाले भने ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ००:००