१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

अठार वर्षपछि सीमा प्रशासन कार्यालय सञ्चालन



पाँचथर, १० चैत । जिल्ला प्रशासन कार्यालय पाँचथरले च्याङथापूमा सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा दिन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।
जिल्लाको उत्तर पूर्व दुर्गम याङवरक गाउँपालिका साविक च्याङ्थापुमा सीमा प्रशासन कार्यालयबाट सेवा दिन थालेपछि त्यहाँका नागरिकमा हर्ष छाएको हो ।
द्वन्द्वकालमा बन्द रहेको उक्त कार्यालय दुई अघिदेखि संचालनमा ल्याइएको हो । सेवा सुरु भएसँगै नागरिकता, र अन्य सिफारिसका कार्यमा सहयोग पुगेको छ । ती काम सदरमुकाम पुगेर गर्दा दुई दिनको समय र पाँच हजार रुपैयाँ खर्च लाग्ने तर अब त्यसो नहुने स्थानीयवासी श्याम बेघाको भनाइ छ ।
आर्थिक तथा भौगोलिक कठिनाइको कारण त्यस क्षेत्रका नागरिक सदरमुकाम आइपुग्न सक्दैनन् । त्यहाँका नागरिकलाई थप सेवा, सुविधा तथा सुरक्षा दिन सशस्त्र प्रहरी बल र बैङ्क समेत राख्नुपर्ने माग रहेको स्थानीयवासी डिल्ली दाहालले बताए ।
प्रशासन, सुरक्षा र गाविस कर्मचारी नियमित उपस्थित नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । ।ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको गाविसका नागरिकलाई यस क्षेत्रबाट सेवा दिन सबै प्रकारको सरकारी कार्यालय राख्ने पहल भइरहेको स्थानीय मोहन ढुङ्गेलको भनाइ छ ।
भौगोलिक कठिनाई भए तापनि सुरक्षा कर्मीबाट नियमित गस्ती हुने गरेको छ । सुरक्षाकर्मीको सङ्ख्या पर्याप्त नभएको र खुल्ला सीमा भएर पनि सीमा प्रहरी चौकीले सुरक्षा प्रदान गर्दैआएको सुरक्षाकर्मी रीता भट्टराईले बताइन् ।
नागरिकलाई थप सेवा दिने प्रयास भइरहेको र उक्त स्थानको सुरक्षा सेवा मजबुत बनाउन समेत पहल गरिरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए ।

प्रकाशित : १० चैत्र २०७३, बिहिबार ००:००