१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री भोलि चीन जाँदै



काठमाडौ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लाग्नुभएको मन्त्री महतले आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्नेछन् ।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै उक्त विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने मन्त्री महतले जानकारी दिए ।

भ्रमणका क्रममा कुनै सन्धि, सम्झौता र समझदारीपत्रमा हस्ताक्षर नहुने जानकारी दिँदै उहाँले पारस्परिक सम्बन्ध र सहायतामा नेपालले महत्वपूर्ण विषयमा आफ्नो तयारी पूरा गरेको र निकट भविष्यमा ती विषयमा चीनसँग सहमति भई हस्ताक्षर हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री प्रचण्ड यही चैत १६ गते बुधबार स्वदेश फर्कनेछन् ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ००:००