७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

स्थानीय तह निर्वाचन : मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने



काठमाडौँ, ९ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाएसँगै पठाउने प्रबन्ध मिलाएको छ ।

आयोगले यस निर्वाचनमा कुल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ । त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्टाम्प प्याड र स्टाम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारामलगायत सामग्री आवश्यक पर्ने आयोगले जनाएको छ ।

कुल ७४४ स्थानीय तहको निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृतको नेतृत्वमा ७४४ वटा कार्यालय स्थापना गरिने छ । निर्वाचन अधिकृतको कार्यालय आगामी वैशाख ३ गतेभित्रै स्थापना गर्ने आयोगको तयारी छ । त्यहाँ छ हजार ८४६ जना कर्मचारी खटिने छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजना कर्मचारी र तीनजना स्वयम्सेवक खटिने छन् ।

मुलुकमा उपलब्ध नहुने सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावारा आदि विदेशबाट आयात गर्न टेन्डर भइसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । हाल आयोगसँग झन्डै ७० हजार मतपेटिका मौज्दात छ । करिब २१ हजार मतदान केन्द्रका लागि आवश्यक पर्ने मतपेटिकामध्ये नपुग हुने करिब ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको उहाँले बताए ।

विसं २०७४ वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुनेछन् । यो निर्वाचनबाट दलित तथा अल्सङ्ख्यकसहितको समावेशी स्वरुपको स्थानीय सरकार बन्ने प्रवक्ता शर्माले जानकारी गराउनुभयो ।

आयोगले स्थानीय तह निर्वाचनमा ७४४ वटा स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन गराउने तयारी अघि बढाएको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार यस निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकामा एक प्रमुख र एक उपप्रमुख गरी जम्मा ५२६ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ जना निर्वाचित हुनेछन् । मुलुकभरका छ हजार ६८० वडाबाट त्यतिकै सङ्ख्यामा वडाअध्यक्ष र प्रत्येक वडाबाट चारजनाका दरले गरी जम्मा २६ हजार ७२० वडा सदस्य निर्वाचित हुने आयोगको कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताउनुभयो ।

प्रत्येक वडाका चार सदस्यमा दुई महिला अनिवार्य गरिएको छ भने दुई महिलामध्ये पनि एक दलित महिला हुनुपर्ने प्रावधान छ । संविधानले व्यवस्था गरेअनुसार यो निर्वाचनबाट १३ हजार ३६० जना महिला निर्वाचित हुनेछन् । त्यसमा छ हजार ६८० दलित महिलाको प्रतिनिधित्व हुनेछ ।

आयोगमा मतदाता नामावलीलाई यही चैत २० गतेसम्म अन्तिम रुप दिने तयारीका साथ प्रशोधनको काम भइरहेको छ । करिब एक करोड ४० लाख मतदाताको सङ्ख्या हुने आयोगको अनुमान छ । स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । नयाँ संरचना अनुसारको स्थानीय तहको नाम, वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोगले आजसम्म ५७ जिल्लामा मतदान केन्द्र रहने पूर्ण विवरण आइसकेको जनाएको छ ।

निर्वाचन आयोगमा ११३ वटा राजनीतिक दल दर्ता भएका छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार स्थानीय तह निर्वाचनमा व्यवस्थापिका–संसद् प्रतिनिधित्व गरेका राजनीतिक दललाई २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उसले पाएकै निर्वाचन चिह्न प्रदान गरिने छ । अन्य दलले स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा भाग लिनुपर्ने व्यवस्था छ । रासस

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ००:००