५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

सिरहामा पेट्रोलियम पदार्थको अभाव



लहान, ८ चैत । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घन्टौँसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा रु एक सय ५० प्रतिलिटरका दरले पेट्रोल किनेर प्रयोग गर्नु परिरहेको सिरहा माड्रका रामानन्द गुप्ता बताए।
प्रतिलिटर रु एक सय दुई पर्ने पेट्रोल लिन घन्टौँ लाइन लाग्दासमेत पाउन नसकेको उहाँले बताउनुभयो । सहज रुपमा पटो«लियम पदार्थ आपूर्ति भइरहेको भए पनि तस्कर र पम्प सञ्चालकको मिलेमतोमा ग्यालेनमा भरेर भारतीय बजार पठाउने गरेको सर्वसाधारणको गुनासो छ ।
सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालभन्दा करिब चार रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ । सोही कारण नेपालबाट भारततर्फ पेट्रोल तस्करी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पेट्रोल पम्पको अनुगमन गर्न चासो नदिएको उपभोक्ताको गुनासो छ ।
गोलबजारस्थित नवदुर्गा ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक रामसगुन यादव एकपल्ट बिक्री वितरण प्रक्रिया खल्बलिँदा सहज हुन कम्तीमा १५ दिन लाग्ने बताउनुहुन्छ । ट्याङ्कर सञ्चालकको आन्दोलन, मधेसमा फागुनको तेस्रो हप्ता भएको बन्द हडताललगायत कारणले पेट्रोलियम पदार्थको आपूर्ति केही असहज भएको उनको भनाइ छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलबार ००:००