९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

स्थानीय तह निर्वाचनका लागि आवश्यक वातावरण बनाउन जरुरी छ



काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन तथा तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
विशेष समयमा पहिलो वक्ताका रुपमा रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अरु दलको अस्तित्व नै स्वीकार नगर्ने तथा मधेसी मोर्चाले संविधान र स्थानीय तहको निर्वाचन स्वीकार्य नहुने भन्ने दुवै अतिवाद प्रवृत्तिले सहमतिको वातावरणलाई बिगारिरहेको बताए ।
उनले भन्नुभयो – “अरुलाई होच्याउने, गाली गर्ने प्रवृत्तिले निर्वाचनलाई अप्ठेरोमा पारेको छ, सबै सहमतिमा आएर निर्वाचनको वातावरण बनाउन अहिले आवश्यक छ, एकातिर संसद्को तलब÷भत्ता बुझेर हिँड्ने अर्कातर्फ निर्वाचनलाई अस्वीकार गर्नेखाले कुरा गर्ने कार्य ठीक होइन, अहिले निर्वाचन आयोग, कार्यपालिका र न्यायपालिकाबीच समधुर सम्बन्ध हुन आवश्यक छ तर त्यो देखिएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले लोकतन्त्रको स्थायित्व र दिगो शान्तिका लागि हुन लागिरहेको निर्वाचनसँग जोडेर आफ्नो पार्टीले गरेको मेची–महाकाली अभियानलाई अराजक भन्नेहरु लोकतन्त्रवादी हुनै नसक्ने ठोकुवा गरे ।
रावलले भने–“राष्ट्र, राष्ट्रियता, स्वाधीनता र अखण्डताको पक्षमा उभिएर अभियानलाई सहयोग र समर्थन गर्ने सबै महान् लोकतन्त्रवादी नेपालीलाई बधाई दिन चाहन्छु, नेपाली जनताको भावनालाई कसैले पनि खेलवाड नगरोस्, सरकारबाट निर्वाचनलाई टार्ने र सार्ने काम नहोस् ।”
एकातिर लोकतन्त्र मान्छु भन्ने अर्कोतर्फ चुनावमा गएर जनताको मत लिआँैभन्दा नमान्ने कुराले के सङ्केत गर्छ भन्दै सांसद रावलले निर्वाचनका लागि वातावरण बनाउन सबै तत्पर हुनु पर्नेमा उनको जोड थियो।
नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले अहिले मुलुकमा संविधान संशोधन, राष्ट्रवाद र निर्वाचनका कुरामा राजनीतिक दल दुई कित्तामा उभिँदा संविधान कार्यान्वयनलाई जटिल बनाएको धारणा व्यक्त गरे ।
“एउटा तराईबाहेक अर्का पहाडबाहेकको राष्ट्रवादको कुरा उठिरहेको छ, यी दुवै अतिवाद हुन्, यस्तो राष्ट्रवादले नेपाल र नेपाली जनताको हित गर्दैन, सबै राजनीतिक दलले अहिले निर्वाचनको वातावरण बनाउन सक्रिय हुन आवश्यक छ ।”
नेकपा (एमाले)का सांसद कमला विश्वकर्माले स्थानीय निकायको निर्वाचनको वातावरण बनाएर तोकिएको समयमा निर्वाचन गराउनेतर्फ सबै राजनीतिक दलका कार्यक्रम केन्द्रित हुन आवश्यक भएको धारणा राखे ।
नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले चीन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको इन्डक्सन चुलोको प्रयोग किन हुन सकेन भनी प्रश्न गर्दै निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक संस्था एनसेललाई कर छुट दिन दबाब सिर्जना गर्ने सांसद र नेताहरु राष्ट्रवादी हुनै नसक्ने जिकिर गरे ।
सांसद मीना पुन स्थानीय तहको निर्वाचन सार्ने भन्ने कुरामा सत्यता छ कि छैन भनी प्रश्न गर्दै निर्वाचन कुनै पनि हालतमा सार्न नहुने धारणा राखे ।
नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले मल्लिक आयोगले डामेकालाई राजदूतमा सिफारिस गर्ने कार्यले हामीले कस्तो परराष्ट्र नीति अँगाल्न चाहेका छौँ भन्ने स्पष्ट गरेको बताए ।
नेकपा (एमाले)का सांसद रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचन घोषणा भई आचारसंहितासमेत लागू भइसकेको अवस्थामा विभिन्न नयाँ आयोजनाको नाममा अर्थमन्त्रीको दबाबमा खरबौं रकमान्तरण भएको हुँदा त्यसलाई तत्काल रोक्न माग गरे ।
उनले भने–“अर्थमन्त्रालय स्वयम् आर्थिक अनुशासन तोड्दै छ, पुराना कार्यक्रमलाई सिथिल तुल्याउने र नयाँ कार्यान्वयन हुनै नसक्ने आयोजनालाई बजेट रकमान्तरण गर्ने प्रवृत्तिले हाम्रो मुलुकको विकासको दुर्दशा देखाएको छ, राष्ट्रको ढुकुटीको ब्रह्मलुट भएको छ ।”
सांसद सूर्यबाला राईले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर मुलुकको ऊर्जावान् युवा जनशक्तिलाई देश निर्माणको अभियानमा लगाउन सबै राजनीतिक दलले सोच्नु पर्ने अवस्था आएको विचार व्यक्त गरे ।
अर्का सांसद कृपाराम रानाले कञ्चनपुरमा भारतीय सुरक्षा बलबाट भएको घटनाको विरोध गर्दै त्यस घटनामा सहादत प्राप्त गर्नेलाई राज्यले आवश्यक सम्मान प्रदान गर्न नसकेको भनी गुनासो गरे ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ००:००