७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो



लिमा, ६ चैत । पेरुमा जारी भारी बर्षापछिको बाढी र पहिरो करिब दुई दशक यताको भीषण रहेको जनाइएको छ । सो राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी यस बर्षको सुरुदेखि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।
शनिबार पेरुका प्रधानमन्त्री फेर्नान्डो जभालाले यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ७२ पुगेको पुष्टि गरेका छन् ।
भीषण बर्षापछि यहाँको मौसमलाई हाल ‘कोस्टल निनो’ नाम दिइएको छ । समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ ।
बाढीमा परेर झन्डै ७२ जना व्यक्तिको मृत्यु र अज्ञात सङ्ख्यामा नागरिक घरवारविहीन भएका अधिकारीले जानकारी दिएका छन् । सरकारले देशका १३ क्षेत्रका ७५० नगरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सन् १९९८ मा पनि पेरुमा यस अवधिका आएको भीषण बर्षालगायतको बाढी पहिरोमा परी ३७४ व्यक्तिको मृत्यु भएको थियो । यस प्रकोपको कारण धेरै क्षति भएको यसलाई नियन्त्रणमा लिने प्रयास भईरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जीन्सकिले बताए ।
बाढी पहिरोका कारण झन्डै १५ करोड अमेरिकी डलरदेखि ६० करोड डलरसम्म क्षति भएको सरकारले अनुमान गरेको छ ।
लिमामा मार्च २० सम्मका लागि विद्यालय बन्द गरिएको छ भने २७ जिल्लामा पानी वितरणलाई समिति गरिएको छ । यस प्रकृतिक प्रकोपको अवस्थामा पेरुलाई सहयोगको गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिहरुले प्रस्ताव गरेका छन् । रासस ÷एपी

प्रकाशित : ६ चैत्र २०७३, आइतबार ००:००