४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता



धनुषा, ४ चैत । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।

घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ ।

परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पु¥याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताए ।

आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव ९एजेन्ट० मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ ।

धनुषाकै अर्का एकजनाको मलेसियामा रहस्यमय मृत्यु

यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।

धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् ।

मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिए।

साथै सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए । रासस

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ००:००