७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान छैटौ चरणमा



फिदिम । हात्तिपाईले रोग निवारणका लागि सरकारकोे अभियान अन्तर्गत छैटौ चरणको अभियान पाँचथरमा सुरु हुन लागेको छ । चैत्र ५ देखी ७ चैतसम्मका लागि अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले बुधबार जानकारी गराएको हो ।

पाँचथर जिल्लामा गत पाँच बर्षदेखि यो अभियान जारी छ । तर उदेश्य अनुसारको नतिजा भने आउन नसकेको कार्यालयले जनाएको हो । गत ५ बर्षको तथ्याङक अनुसार ७५ प्रतिशतले मात्रै औषधी सेवन गरेको भेटिएको छ । सामाजिक अगुवाहरुले नै हात्तिपाईले बिरुद्धको औषधीका बिषयमा गलत सन्देश दिने हुँदा औषधी सेवन गर्नेको संख्यामा कमी भएको स्वास्थ्य स्रोतको दाबी छ ।

औषधीको सामान्य प्रतिकृया बाहेक ठुलो साईड इफेक्ट नहुने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख भुपाल श्रेष्ठले जानकारी दिए । उनले भने– औषधी प्रयोगको बिषयमा आम नागरिकमा अझै पनि भ्रम रहेको पाईयो । स्वास्थ्यकर्मीको भनाई अनुसार हात्तिपाईलेको औषधी प्रयोगले मानव स्वास्थ्यमा कुनै असर गर्दैन । तर पनि मानिसको मृत्यु हुने, अन्य मुलुकबाट परिक्षणका लागि पठाईएको औषधी हो भन्ने गलत भनाईका कारण आम नागरिकले औषधी नखाने गरेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले पाँचौ पटकसम्मकोे अभियानले सत प्रतिशत नतिजा दिएन । कुल एक सय नागरिक मध्ये पहिलो चरणको अभियानमा ६५ दशमलव ८५ प्रतिशतले मात्रै औषधी सेवन गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा तथा तालिम अधिकृत तेजबहादुर तुम्बापोका अनुसार दोस्रो अभियानका क्रममा अघिल्लो अभियानको त्ुलनामा एक प्रतिशतले बृद्धी गर्दै ६६ दशमलव एक प्रतिशत पुगेको थियो ।

तेस्रो अभियानमा केही सुधार भएको देखीएको छ । सोही क्रममा ७१ दशमलव ५९ प्रतिशत नागरिकले औषधी सेवन गरेको उल्लेख छ । चौथो अभियानका क्रममा ७५ दशमलव १८ प्रतिशत पुगेको औषधी सेवनको क्रम पाँचौ अभियानमा ७५ दशमलव ७३ पुगेको थियो । यस पटक जिल्ला स्वास्थ्य कार्यालयले औषधी सेवनमा उल्लेख्य नतिजा निकाल्ने तयारी गरेको छ ।

जिल्लामा अझै पनि कुल एक हजार नागरिकमा १८ जनामा हात्तिपाईलेको संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा जिल्लाका दुई स्थानमा गरिएको नतिजा परिक्षणमा त्यस्तो भेटिएको हो ।

जिल्लाको थर्पुमा २ सय ८३ जनामा गरिएको परिक्षणमा २ जनामा संक्रमण भेटिएको थियो । यता फिदिममा गरिएको सोही प्रकृतिको परिक्षणमा सहभागी ३ सय २६ जना मध्ये ९ जनामा त्यस्तो संक्रमण भेटिएको छ । जिल्ला कारागारमा मात्रै कुल ६५ जनामा गरिएको परिक्षणमा ५ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ ।

पाँचथरको कुल जनसंख्यालाई आधार मान्ने हो भने कुल जनसंख्या मध्ये २ हजार ८ सयमा संक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

यस पटकको अभियानलाई सफल बनाउन जिल्लामा १६ सय ७६ स्वास्थ्यकर्मी परिचालनको तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।
अभियान सञ्चालनमा अघिल्लो पटकका कमजारीलाई सच्याउँदै शिक्षा, राजनीति, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायलाई छुटाछुटै अभिमुखिकरणको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ ।

त्यस बाहेक जिल्लामा अभियान सुरु हुन अघिल्लो दिन जिल्लाका प्रमुख सरकारी कर्मचारी, राजनीतिक दल सामाजिक अभियन्ता लगायतलाई सहभागी गराएर सामुहीक औषधी सेवन गर्ने कार्यंक्रम समेत तय गरिएको छ ।

प्रकाशित : ३ चैत्र २०७३, बिहिबार ००:००