२ बैशाख २०८१, आइतबार । April 14, 2024

मुख्य खबर

पाँचथरमा एसइइ परीक्षामा ५ हजार विद्यार्थी सहभागी हुने



फिदिम । विद्यालय शिक्षा परीक्षा (एस.इ.इ.)मा पाँचथर जिल्लाबाट यस वर्ष ४ हजार ७ सय २३ परीक्षार्थी सहभागी हुने भएका छन् । प्रवेशिका परीक्षा (एस.एल.सी.)का नाममा सञ्चालन हुँदै आएको परीक्षा यस वर्षबाट एस.इ.इ.का नामबाट सञ्चालन हुँदैछ ।

पाँचथरमा यस बर्ष नियमिततर्फ ३ हजार ६ सय ४७, एक्जाम्टेडतर्फ ४ सय १३ र अपग्रेडतर्फ ६ सय ६३ परीक्षार्थी सहभागी हुनेछन् । ३ चैत्रबाट सञ्चालन हुने परीक्षामा जिल्लाका ८० सामुदायिक, १ कृषि, ८ संस्थागत र १ खुल्ला गरि ८९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । ८९ विद्यालयका लागि जिल्लामा २० परीक्षा केन्द्र तय गरिएका छन् । परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको जिल्ला शिक्षा अधिकारी राजकुमार वि.क.ले जानकारी दिए । यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक र सहयोगी नियुक्ती गरि सहजिकरण समेत गरिसकिएको जिशिअ वि.कले वताए । परीक्षाका लागि २१ सहायक केन्द्राध्यक्ष, २०७ निरीक्षक र १०८ सहयोगी कर्मचारी खटिने जिशिअ वि.कले जानकारी दिए ।
एस.इ.इ.लाई व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला शिक्षा कार्यालयले ४ ओटा अनुगमन संयन्त्र बनाएको छ । शाखा अधिकृत युगमणि सवेहाङ, विद्यालय निरीक्षक कमल निरौला, विद्यालय निरीक्षक भिमसेन विष्ट र विद्यालय निरीक्षक शालिकराम काफ्लेको नेतृत्वमा संयन्त्र बनाइएको छ । यस्तै जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति बनाइएको छ । यस्तै परीक्षामा आइपर्ने समस्याहरु समाधानका लागि जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा मोवाइल टोली बनाइएको छ । परीक्षा अनुगमनका लागि क्षेत्रीय र केन्द्रीय स्तरको टोली समेत अनुगमनमा आउने जिशिअ विकले जानकारी दिए ।

यस्तै विद्यार्थीको विवरण परीक्षा आवेदन फारम भर्दाभन्दा फरक भई आएमा सच्याउनका लागि ‘एप्लिकेशन मेन्यु’को समेत व्यवस्था गरिएको छ । गत बर्षको एसएलसी परीक्षाबाट उक्त मेन्युको प्रयोग गर्न थालिएको हो । कुनै परीक्षार्थीको विवरण फरक भएको अवस्थामा परीक्षा सकिएको १५ दिन भित्रमा मेन्यु मार्फत निवेदन दिएमा नतिजामा सच्याइएको विवरण प्रकाशित हुने जिशिअ विकले वताए ।

परीक्षालाई व्यवस्थित गर्न १९ बुँदे आचारसंहिता जारी गरिएको छ । जिल्ला स्तरमा ६ बुँदे आचारसंहित तय गरिएको जिशिअ विकले वताए ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ००:००