२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

मुख्य खबर

वेसाहारा नाबालकको भरणपोषणका लागि सहयोग जुट्यो



फिदिम । लाइन्स क्लव अफ पाँचथरले ११ महिने नाबालकको भरण–पोषणका लागि मासिक ३ हजार रुपैँया उपलब्ध गराएको छ ।
जन्मेको चार महिना नवित्तै रोगका कारण आफ्नी आमा गुमाएका र बाबु बेपक्ता भएका ती बालकको भरण पोषणका लागि सो रकम उपलब्ध गराईएको हो ।
तेह्रथुमको सक्रान्तिबजार घर भएका बावु खगेन्द्र लोहार वेपत्ता बनेका तथा आमा मिना लोहार नावालक ४ महिनाको हुँदा उपचारका क्रममा मृत्यु भएपनि साहराविहीन बनेका ११ महिने नाबाल सरोजको भरण–पोषणका लागि ३५ सहयोगी संघ संस्था र व्यक्तिहरुले यस्तो व्यवस्था गरिदिएका हुन् ।
लाइन्स क्लव अफ पाँचथर तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेको संयोजनमा फिदिमवासी सहयोगीहरु, संघसंस्थाहरु तथा प्रवासमा रहेका युवाहरुबाट ९० हजार १ सय ३१ रुपैँया संकलन गरेर सङ्कलित रकम हातेमालो कृषि सहकारी संस्था लिमिटेडमा जम्मा गरिएको छ ।
उक्त रकमबाट नाबालकको पालन–पोषण गर्दै आएकी फिदिमकी पवित्रा विश्वकर्मालाई मासिक रुपमा ३ हजार रुपैँया उपलब्ध गराउने व्यवस्था गरिएको छ । उक्त रकमको साँवा र व्याजले आगामी ३ वर्षसम्म मासिक ३ हजार रुपैँयाका दरले रकम प्रदान गर्ने काफ्लेले वताए ।
लाइन्स क्लव अफ पाँचथरको आयोजनामा मंगलबार उक्त रकम हस्तान्तरण गरीएको हो । वयोवृद्ध समाजसेवी बद्रिप्रसाद रिजालले सङ्कलित रकम संरक्षक विश्वकर्मालाई प्रदान गरेका थिए ।
नाबालकसहित उपचारका लागि पाँचथर जिल्ला अस्पताल आएकी आमाको मृत्युपश्चात उनका आफन्तले स्याहार सम्हार गर्दै आएको र नावालकको हेरचाहमा वेवास्ता भएको भन्ने सुनेर आफूले संरक्षण गर्दै आएको पवित्राले वताइन् ।
फिदिमका समाजसेवी तथा व्यवसायीहरु, विभिन्न संघ संस्था, प्रवासमा रहेका पाँचथर तथा तेह्रथुमका युवाहरु गरि ३५ जनाबाट उक्त रकम सङ्कलन गरिएको हो । साथै आगामी दिनमा वेसाहरा बनेका नावालकको शिक्षा–दिक्षा र भरण–पोषणमा समेत सहयोग गरिने लाइन्स क्लव अफ पाँचथरका सचिव नवराज घिमिरेले वताए ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ००:००