१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

चार दशकदेखि लालपुर्जाविहीन



तेह्रथुम, १ चैत । हमरजुङ गाविस शुक्रबारे बजारका कुलप्रसाद लिम्बूले रु एक करोडको लगानीमा पक्की घर निर्माण गरेको तीन वर्ष भयो । विसं २०५८ मा लिम्बूलाई सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा उपलब्ध गरायो । तर अहिले आएर घर बनाएको जग्गा हेमकुमारी कार्कीको नाममा दर्ता रहेको पाइएपछि लिम्बू तीनछक्क परेका छन् ।
लाखौँ रुपैयाँ खर्चेर बनाएको घरको लालपुर्जा अर्कैले दाबी गर्दा लिम्बू मारमा परेका छन् । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको लापर्बाहीका कारण उहाँलाई समस्या भएको हो ।
यस्तै शुक्रबारे बजारको ऐलानी जग्गामा घर बनाउने प्रभुराम कार्कीको घर रहेको जग्गाको लालपुर्जा सोही ठाउँका कुमारी लिम्बूको नाममा रहेको पाइएको छ । सुकुम्बासी समस्या समाधान आयोगको चरम लापर्बाहीका कारण लिम्बू र कार्कीजस्ता यहाँका अन्य व्यक्तिको घर जग्गा अर्काको नाममा दर्ता भएको पाइएको छ ।
शुक्रबारे बजारको ऐलानी जग्गामा करिब ३०० घर बनेका छन् । अधिकांशले लालपुर्जा पाएका छैनन् । लालपुर्जा पाएकाको जग्गा आफ्नो नाममा छैन । विसं २०३१ फागुनमा तत्कालीन राजा वीरेन्द्र शाहको आदेशमा शुक्रबारे क्षेत्रको ऐलानी जग्गामा बजार विस्तार गर्न सुरु गरिएको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए ।
“जग्गा भोग चलन गर्ने धेरैजासोले हालसम्म लालपुर्जा पाएका छैनन्,” उहाँले भन्नुभयो । उहाँले लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरे । लालपुर्जाका लागि स्थानीयवासी काठमाडौँसम्म धाउँदै आएका छन् ।
“माग सुनवाइ हुन सकेको छैन,” पीडित अनिल आँखेवालेले भने । यस अघि गुरुप्रसाद भट्टराई अध्यक्ष रहेको आयोगले यहाँका ७० जनालाई लालपुर्जा वितरण गरेको थियो । तर एउटाले भोग चलन गरको घर जग्गा अर्कैको नाममा दर्ता गर्दा जटिलता उत्पन्न भएको छ । लालपुर्जा नहुँदा उनीहरुलाई बैंकिङ कारोबार गर्न, धितो कारोबार तथा किनबेचका लागि समस्या भएको छ ।
शुक्रबारे बजार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सुदाप, दाँगपा, ओख्रे, पञ्चकन्या, हमरजुङ, फाक्चामारा, आङ्दिमलगायत गाविसको व्यापारिक केन्द्र हो ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००