८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु



भीमदत्तनगर, २६ फागुन । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउए ।

एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्ुमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्ुमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००