५ जेष्ठ २०८२, आइतबार । May 18, 2025

मुख्य खबर

कार्यालयको कामकाज ठप्प



सल्लेरी (सोलुखुम्बु), २४ फागुन । स्थानीय विकास अधिकारी कृष्ण सापकोटा र लेखा अधिकृत युवराज राईमाथि सोमबार साङ्घातिक आक्रमण भएपछि विरोधस्वरुप जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज ठप्प पारिएको छ ।
मदिरा सेवन गरी गुण्डागर्दी शैलीमा आएको एक समूहले बिनाकारण कर्मचारीको कार्यकक्षमा हातपात भएको जनाउँदै सम्पूर्ण कर्मचारीले दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने मागसहित कलम बन्द गरेका हुन् ।
कामकाज ठप्प हँुदा सेवाग्राही भने मारमा परेका छन् । घट्नामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको तथा बाँकी तीन जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुका जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य हेमकुमार राईले विज्ञप्तिमार्फत बिनाकारण कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीमाथि भएको अभद्र व्यवहारमा संलग्नलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन्।

यस्तै अनेरास्ववियुका जिल्ला अध्यक्ष लक्ष्मण राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निष्पक्ष ढङ्गबाट कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको हो । नयाँ शक्ति नेपाल, राप्रपा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन विश्वविद्यालय महासङ्घका केन्द्रीय सदस्यले पनि घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार ००:००