८ आश्विन २०८०, सोमबार । September 26, 2023

Slider samachar

सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ: प्रधानमन्धी दाहाल



काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन् ।

दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा उनले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताए ।
“सबै जातजाति भाषाभाषीको एकीकृत रुपले नै नेपाल विश्वमा चिनिन्छ, शेर्पा जातिले हिमाल चढ्न विश्व कीर्तिमान कायम गरेकाले शेर्पा जातिका कारण पनि नेपाल विश्वमा परिचित छ”, उनले भने । धेरै जातजाति र भाषाभाषी भएकैले नेपाल सबैको साझा फूलबारी बनेको प्रधानमन्त्री दाहालले बताए। “सबै जातजाति र भाषाभाषीको एकताले मात्र राष्ट्रिय एकता बलियो हुन्छ”, उनले भने।

कार्यक्रममा पूर्वमन्त्री एवम् सांसद कृपासुर शेर्पाले हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिका लागि शेर्पा प्रदेश दिइनुुपर्ने माग गरे। पूर्वसांंसद वाङ्छु शेर्पा, वरिष्ठ चलचित्र निर्देशक यादव खरेल, कार्यक्रम संयोजक एलडी लामा शेर्पा, प्रा श्यामसुन्दर शेर्पालगायतले शेर्पा जातिको मौलिक संस्कृतिका विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा रु ३१ हजार राशिको ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट हास्य कलाकार वसुन्धरा भुसाल, रु १० हजार राशिको ‘साम्दे शेर्पा प्रतिभा पुरस्कार’ बाट हास्य कलाकार दीपकराज गिरी र रु १० हजार राशिकै ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट गायक ल्हाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रा श्यामसुन्दर शेर्पाले लेख्नुभएको ‘शेर्पा जातिको भाषा र संस्कृति’सम्बन्धी पुस्तक विमोचन गरियो । कार्यक्रममा शेर्पा जातिको मौलिक स्याब्रु नृत्य प्रदर्शन गरिएको थियो । सो अवसरमा प्रतियोगितात्मक स्याब्रु नृत्य प्रतियोगिताका विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । रासस

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००