१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

स्थानीय तहको निर्वाचनपछि समस्या समाधान : मन्त्री बुढाथोकी



इलाम, १६ फागुन । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् ।
इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका अवसरलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनमा सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताउँदै “संविधान कार्यान्वयन भयो भने मात्र नागरिक अधिकार सम्पन्न हुन्छन्, नत्र संविधान कागजको खोस्टो जस्तो मात्र हो ।”
स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणका कामले गति लिनुका साथै नागरिकका सबै कामकाज सहज रूपमा अगाडि बढ्ने मन्त्री बुढाथोकीले बताए । देशमा गणतन्त्र आएको, नयाँ संविधान पाएको भए पनि नागरिकले नयाँ संविधानको उपलब्धि अनुभव गर्न नपाइरहेको बताउँदै मन्त्री बुढाथोकीले स्थानीय तहको निर्वाचनसँग नागरिकले लोकतन्त्र व्यावहारिक रुपमा अनुभूत गर्न पाउने बताए ।
तराई मधेसका नेताहरुले संविधानमाथि गरेको असन्तुष्टितर्फ सङ्केत गर्दै मन्त्री बुढाथोकीले संविधानमा सबैको चाहना–भावना समेट्न नसकिने बताए ।
संविधान कार्यान्वयन अहिलेको मुख्य मुद्दा भएको बताउँदै मन्त्री बुढाथोकीले भने–“संविधान बाइबल र कुरान जस्तो अपरिवर्तनीय होइन, यो समयअनुसार परिवर्तन गर्दै जान सकिन्छ ।”
देश चुनावमा होमिएकाले यसलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन कर्मचारी वर्गले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री बुढाथोकीले अबको निर्वाचनपछि नगरपालिका र गाउँपालिकाको अध्यक्षलगायतको जिम्मेवारी र अधिकार यसको सामथ्र्यभन्दा पनि बढी हुने भएकाले स्थानीय प्रशासन चुस्त बनाउन कर्मचारीले समन्वय र सहकार्यको भूमिका निर्वाह गर्नु निर्देशन दिएका छन् ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००