७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

म्याग्दीको स्लेटखानी सञ्चालनमा ल्याउन माग



बेनी ९म्याग्दी, १६ फागुन । म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन् ।

रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भए पनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन् ।

रुममा रहेको विशाल स्लेट खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सक्ने हो भने दैनिक ३५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यलाई वार्षिक लाखौँ राजस्व प्राप्त हुने सम्भावना रहँदारहँदै पनि सरकारी निकायबाट बेवास्ता गरिएको स्थानीय टेकबहादुर विश्वकर्माले बताए।

यहाँको स्लेट र ढुङ्गा स्तरीय र चिल्लो भएको हुँदा पोखरा, बागलुङलगायतका ठाउँबाट पनि माग हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । अहिले सो ढुङ्गा खानीको बाहिरी भागबाट निकालिएको ढुङ्गा बेचेर वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी हुँदै आएको विश्वकर्माको भनाइ छ । ढुङ्गाखानीबाट भएको आम्दानीले रुमको राष्ट्रिय माविका शिक्षकलाई तलब खुवाउँदै आइएको छ । रासस

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००