२ बैशाख २०८१, आइतबार । April 15, 2024

मुख्य खबर

ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरी मनाइदै



काठमाडौँ, १६ फागुन । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताउनुभयो ।

“हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ”– उहाँले भन्नुभयो ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्बो ल्होसारका अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ ।

यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००