१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

चीनले नेपालको विकासका लागि धेरै महत्व दिएको छःराजदूत



काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाल–चीन प्राचीनतम सम्बन्धलाई नयाँपन दिएर दुई देशको आर्थिक, सामाजिक विकास गर्नुपर्ने आँैल्याउनुभएको छ ।

नेपाल–चीन हिमालयमैत्री समाजले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले नेपाल आत्मनिर्भर भएर अघि बढ्नका लागि चीनको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङले चीन सरकारले नेपालको विकासका लागि धेरै महत्व दिएको उल्लेख गर्नुभयो । उहाँले सन् १९६०÷७० का दशकमा अहिले जतिको विकास नभएको अवस्थामा पनि चीन सरकारले ११४ किमी कोदारी राजमार्ग । १७४ किमी पोखरा–काठमाडौँ राजमार्ग निर्माणमा सहयोग गरी नेपालको आर्थिक र पर्यटकीय विकासमा सहयोग गरेको स्मरण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले नेपालको विदेश नीति समानताका आधारमा निर्माण गर्नुपर्ने र सोहीअनुसार नेपालको आर्थिक, सामाजिक, सांस्कृति र भाषिक समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कायक्रममा चीनसँग जोडिएका नेपालका १५ जिल्लाका सांसदले चीनसँग नाका सहज नहुँदा कठिनाइ भएकाले नेपाल र चीन सरकारले सो कुरालाई ध्यान दिनुपर्ने भनाइ राख्नुभएको थियो । समाजका अध्यक्ष तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल–चीनबीच देश–देश, जनता–जनताबीच सुमधुर सम्बन्ध बनाई दुवै देशका सरकारले हिमाली क्षेत्रका नाकामा परेको समस्याबारेमा सम्बोधन गराउन ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ००:००