२० असार २०७९, सोमबार । July 4, 2022

मुख्य खबर

मोर्चाको आक्रमणमा पत्रकार घाइते



महेन्द्रनगर धनुषा, ११ फागुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा रेडियो जनकपुर ९७ मेगाहर्जका अध्यक्ष शीतल साहमाथि जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले आज आक्रमण गरी घाइते बनाएका छन् ।
पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उहाँको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुई वटा झ्यालको सिसा फुटेको छ । मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका थिए ।
मङ्गलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई आज एमाले नेता रघुवीर महासेठको घरमा बसेका बेला मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेका छन् । नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराउ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।
झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले आज मधेस बन्द गरेको छ । मधेस बन्दका क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा ¥याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् ।
यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् ।
मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : ११ फाल्गुन २०७३, बुधबार ००:००