११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

राप्रपा केन्द्रीय सदस्यका लागि मतदान सुरु



rrp

काठमाडौँ, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिएलगत्तै गणना गरी परिणाम सार्वजनिक गरिनेछ । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुने छ ।

पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलोपटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गर्नुभएको थियो ।

पार्टीको विधान अनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुल्ला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एकजना निर्वाचित हुने छन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुश्लिम दुई, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एक, प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।

महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनीत गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भनिएको भए पनि महाधिवेशनको समय अवधि लम्बिएकाले खर्च बढ्न सक्ने बताइएको छ ।

पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, प्रर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्चका लागि छुट्याइएको थियो ।

पार्टीका नेता किरण गिरीका अनुसार सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेशी प्रतिनिधित्व गराइने छ । महाधिवेशनमा हुने चुनावका लागि ६० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि संवैधानिक राजसंस्थाको पक्षमा महाधिवेशन केन्द्रित गरिएको छ । आजको परिणाम सार्वजनिक भएसँगै महाधिवेशनको समापन समेत गरिने युवा नेत्री वीना थापाले जानकारी दिनुभयो । रासस

प्रकाशित : १० फाल्गुन २०७३, मंगलबार ००:००