७ श्रावण २०८१, सोमबार । July 23, 2024

मुख्य खबर

३५ हजार घरधुरीमा परम्परागत चुलो



इलाम, ८ फागुन । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ ।
जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो ।
जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५ सय २ घरधुरीमध्ये अझै पनि ३५ हजार ७ सय घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् ।
जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।
यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ ।
फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७ सय ७५ परिवारले एलपी ग्यास र ३५ हजार ७ सय घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् ।
परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १ सय ५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७३, आइतबार ००:००