१४ चैत्र २०८०, बुधबार । March 27, 2024

अर्थ

द्वन्द्वकालमा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनःनिर्माण हुँदै



भच्चेक गोरखा, ८ फागुन । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् ।
नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् ।
इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । रु ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गरे हो । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
रु एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोकको भवन पनि प्रनाम बमले उद्घाटन गर्नुभएको छ । रु दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गर्नुभयो । प्रहरी प्रधान कार्यालयबाट नियमित कार्यक्रमतर्फ प्राप्त भएको बजेटले भवन निर्माण गरिएको हो । भवन निर्माण भएपछि हातहतियार सुरक्षित राख्न र डियुटी गर्न सहज भएको प्रहरी जवानले जनाएका छन् । स्थानीयवासीको सहयोगमा रु पाँच लाख लगानीमा निर्माणाधीन गाँखु प्रहरी चौकी भवन भत्केपछि प्रहरी डेढ वर्षदेखि त्रिपाल, टेण्टमा कष्टकर तवरले बस्दै आएका थिए ।
प्रहरी चौकीको नाउँमा जग्गा नहुँदा केहि स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना घट्दा तत्काल प्रहरी जान सक्ने अवस्था नरहेको बताउनुभयो । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उनको आग्रह छ ।

प्रकाशित : ८ फाल्गुन २०७३, आइतबार ००:००