७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

निमित्त प्रहरी महानिरीक्षकमा डा. पोखरेल



काठमाडौँ, २ फागुन । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई आज निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख थिए। महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले दिएको आदेश तथा आजै प्रहरी प्रमुख छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाए पनि सर्वोच्च अदालतले उनको नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ ।

महानिरीक्षक अर्यालसहित पन्ध्र जना सेवानिवृत्त

महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको माथिल्लो तहको ठूलो जनशक्ति आज एकै पटक सेवानिवृत्त भएको छ । सेवानिवृत्त हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा छन्। त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल पनि आजैदेखि सेवानिवृत्त भएका छन्।

प्रहरी प्रधान कार्यालयमा आज साँझ आयोजित समारोहमा अवकाश पाउने सबै वरिष्ठ प्रहरी अधिकृतलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले मायाको चिनो प्रदान गरेर बिदाइ गरे।

नेपाल प्रहरीमा नोकरी सेवा अवधि ३० वर्ष कायम छ । उनहिरु सबै विसं २०४३ फागुन ३ गते प्रहरी निरीक्षकमा प्रहरी सङ्गठनमा प्रवेश गरेका थिए । बिदाइ समारोहलाई सम्बोधन गर्दै सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक अर्यालले नागरिकको विश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो पुँजी हो भन्ने पक्षलाई हेक्कामा राखेर काम गर्न सकल दर्जालाई निर्देशन दिए ।

श्री अर्याल विसं २०७० मङ्सिर १ गते नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा भएका थिए । उनको नेतृत्वमा प्रहरी सङ्गठनले दोस्रो संविधानसभाको निर्वाचन, भूकम्पपछिको खोजी, उद्धार र राहत, १८ आँै सार्क सम्मेलनजस्ता कार्यमा शान्ति सुव्यवस्था कायम गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।

तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले सेवानिवृत्त हुन लागेको प्रहरी जनशक्तिबाट सङ्गठनको विकासमा पु¥याएको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने विश्वास व्यक्ति गरे। रासस

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ००:००