१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

मुख्य खबर

सूचना विभागमा सूचनाको भण्डार बनाइने



बनेपा, २८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विश्वभर तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिलाई विकासका हरेक कार्यमा जोड्नुपर्ने बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयद्वारा आजदेखि धुलिखेलमा सुरु भएको दुईदिवसीय ‘सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै कार्कीले भने “नेपाली जनता नै ज्ञान र सूचनाले सुसज्जित भएपछि मात्र विकास हुने भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्छ ।”
सरकारका प्रवक्ता कार्कीले अर्को प्रसङ्गमा कर्मचारीतन्त्रमा अलिकति जडता र राजनीतिमा अलिकति सामन्ती संस्कार रहेकामा असन्तोष व्यक्त गरे ।
सञ्चारमन्त्री कार्कीले दूरसञ्चारका क्षेत्रमा स्पष्ट नीतिको अभाव रहेको बताउँदै सूचना विभागमा सूचनाको भण्डार बनाइने, हुलाकलाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गरिने, टेलिकमको सेवा सहज र सुलभ रुपमा उपभोक्ताले प्राप्त गर्ने, नेपालको आफ्नै भूउपग्रह स्थापना गर्नेजस्ता कार्यमा ध्यान दिइएको जानकारी दिए।
कार्यक्रममा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले दूरसञ्चारका क्षेत्रमा आएका नवीन प्रविधि र यसबाट प्राप्त हुने लाभका विषयमा सांसद जानकार हुन सकेमा मुलुकलाई नै फाइदा पुग्ने धारणा राखे ।
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयले आमसञ्चार र दूरसञ्चारका क्षेत्रमा गरेका महत्वपूर्ण कार्यको विवरण प्रस्तुत गर्दै मन्त्रालयबाट सम्पादित कार्यका बारेमा संसद्को विकास समितिमा नियमित जानकारी गराइएको बताए ।
कार्यक्रममा ग्रामीण दूरसञ्चार विकासका लागि अगाडि बढाइएका कार्यक्रमको कार्यान्वयन स्थिति र यसका चुनौती, दूरसञ्चारका नयाँ प्रविधि र नेपालमा त्यसको उपयोग, सञ्चार मन्त्रालयबाट भएगरेका कार्य तथा मन्त्रालय मातहतका विभिन्न निकायको वर्तमान स्थितिका बारेमा छलफल हुनेछ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ००:००