७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

सिमानाका भएर चेलीबेटी ओसारपसार बढ्दो



भीमदत्तनगर, २८ माघ । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पु¥याए ।
मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो । रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका विभिन्न ठाउँमा बेचिने गरेका छन् ।
चालु आवको आठ महिनामा कञ्चनपुरको विभिन्न सीमाक्षेत्रबाट भारतलगायत तेस्रो मुलुक जान लागेका १०५ चेलीको उद्धार गरिएको छ । आव २०७२÷७३ मा १५६ जना तथा आव २०७१÷७२ मा प्रहरीले सीमा नाकाबाट ९८ चेलीलाई घर फर्काएको तथ्याङ्क छ । भूकम्पपछि रोजगारीका महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याउने क्रम बढ्दै गएको छ ।
“रोजगारी छैन, भारतमा काम गर्न जान लागेका भन्छन्,” जिल्ला प्रहरी कार्यालयअन्र्गत महिला सेलका सपना ऐरी चौधरीले भने– “खुल्ला सीमा भएका कारण रोक्न गाह्रो हुने गरेको छ ।” पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई रोजगारीका बहानामा भारत हुँदै तेस्रो मुलुक पु¥याउने दलाल सक्रिय भएका छन् ।
“हामीले शङ्कास्पद अवस्थामा भेटिएकालाई मात्रै सीमामा नियन्त्रणमा लिने हो,” उनले भने । भारतका विभिन्न सहर जाने सवारी साधनमाथि समेत निगरानी बढाउँदै आएको उनले बताइन् । निगरानी र सुरक्षा सतर्कता बढाउन सके केही मात्रामा चेलीबेटी ओसारपसारमा कमी आउन सक्छ । “उद्धार गरिएका प्रायः भारतहुँदै पैसा कमाउने प्रलोभनमा परी तेस्रो मुलुकतर्फ जाने रहेका छन्,” ऐरीले भने।
वैदेशिक रोजगारका नाउँमा चेलीलाई बेचबिखनका लागि लैजाने सञ्जाल मुलुकका दूरदराजका साथै भारतको राजधानी दिल्लीसम्म सक्रिय छन् । सीमा कटेपछि दलाललाई चाहेको ठाउँसम्म पु¥याउन कुनै कठिनाइ हुँदैन । माइती नेपाल, कञ्चनपुरले सन् २०१६ मा पश्चिमी नाका गड्डाचौकी भएर लैजाँदै गरेको अवस्थामा ३३८ चेलीको उद्धार गरेको छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्ला अदालतमा सात र चितवनमा एक गरी आठवटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका मुद्दा चलिरहेको जानकारी दिए । “भारतभन्दा पनि तेस्रो मुलुक जाने चेलीको बढी उद्धार गरिएको छ,” उनले भने– “इजरायल, दुबइ, कुवेत, कतार लगायत मुलुक जानेको सङ्ख्या अत्यधिक छ ।” तीन सय ३८ जनामध्ये २१ जना दुबइ, १२ जना कुवेत, ११ जना किर्गिस्तान र १० जना इराक जान खोजेको पाइएको माइती नेपालका संयोजक भट्टले जानकारी दिए ।
“मानव ओसार पसार रोक्न सुरक्षा सतर्कता बढाउनतर्फ सरकार गम्भीर हुनु पर्छ,” उनले भने । सन् २०१६ को उद्धार तथ्याङ्क हालसम्मकै उच्च हो । माइती नेपालले सीमामा मात्रै नभएर भारतका विभिन्न सहरबाट समेत १३ जना चेलीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “भारतमा दलाल नेपाली चेलीलाई तेस्रो मुलुक पठाउन बढी सक्रिय रहेका पाइन्छ,” भट्टले भने।
तेस्रो मुलुक जाने प्रायः चेलीसित कुनै कागजपत्र हुँदैन । “राहदानी समेत नरहेको पाइयो,” उनले भने “दलालले तेस्रो मुलुकमा बढी आम्दानी हुन्छ भनेर परामर्श गरेर लग्ने गरेका छन् ।” भारतीय सीमा सुरक्षा र अन्य निकायबाट पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहयोग पाउने गरेको उनको भनाइ छ ।
“सीमामा प्रहरीमात्रै भएर पुग्दैन,” संयोजक भट्टले भने – “राज्यले सीमामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ ।” त्यसैगरी काठमाडौँ–दिल्ली, पोखरा–दिल्लीसम्म सञ्चालनमा आएको लामो दूरीका बसमार्फत दलाललाई पछिल्लो समय सहज भएको उनको भनाई छ।
हाल कञ्चनपुरमा सुरक्षा संयन्त्रका साथै माइती नेपाल, थ्री एन्जेल, साना हातलगायत संस्था मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय छन् । सीमामा उद्धार हुने र आफन्तको जिम्मा लगाउने काम भए पनि मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन निकै चुनौतीपूर्ण रहेको भट्ट बताँछन् । “मुख्य दलाल त भेटाउनै गाह्रो छ,” उनले भने “ओसारपसारको जिम्मा पाएका व्यक्ति मात्रै समातिएका घटना छन् ।”

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ००:००