११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

मेहनती शशीराज



रामपुर पाल्पा, २७ माघ । सुन्न र बोल्न नसक्ने रामपुर नगरपालिका–८ सानीअमराइका शशीराज डोटेल जिल्लामा यतिबेला अगुवा कृषकका रुपमा चिनिनछन् ।
विगत एक दशकदेखि पाँच रोपनी जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका डोटेल बार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएको छ । उनलाई जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारीमा रु ४० हजार अनुदान रकम उपलब्ध गराएको छ ।
इसाराका भरमा आफ्ना कुरा अभिव्यक्ति गर्ने डोटेलले तरकारीखेतीसँगै पाँच वर्ष यता कुखुरा फार्म र भैँसी फार्म समेत सञ्चालन गर्दै आएका छन् । कुखुराबाट वार्षिक रु तीन लाख आम्दानी गछर्न । हाल उनको फार्ममा ५०० वटा कुखुरा रहेका छन् । यस्तै पाँच वटा भैँसीबाट डोटेलले दैनिकरुपमा २५ लिटर दूध बिक्री गरी मासिक रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । दूध बिक्रीबाट उनले बार्षिक रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी लिँदै आएका छन् ।
सानैमा मेनेन्जाइटिस रोग लागेपछि उनी जीवनभर सुन्ने र बोल्न नसक्ने भएका हुन् । पाल्पा मिसन अस्पताल, बुटवल, भरतपुर, धरान लगायत ठाउँमा उपचार गराए पनि निको नभएपछि अपाङ्ग भएर बस्नुपरेको उनका आमा भगवती देवकोटा बताउँछिन् । उनको एक्लो छोरा हो ।
शशीराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्ने कार्य आफैँले गर्छन् । घरायसी प्रयोजनका लागि आवश्यक सामग्री, छोराछोरीको पढाइ खर्च, व्यवसायको आम्दानीलगायतका हरहिसाब, बैंकिङ कारोबार सबै डोटेलले नै गर्दैआएका छन् । कक्षा ८ सम्म पढेका डोटेलले रामपुरमै सञ्चालन भएको सामुदायिक कृषि सहायक तीन महिने तालिम समेत उत्तीर्ण गरेका छन् ।
तालिमले उनलाई कृषि व्यवसायमा प्राविधिक ज्ञान सिप प्रदान गरेपछि सामान्य समस्याको पनि आफैँ समाधान गर्न सक्ने भएको छ । शशीराजको व्यवसायले अरु युवालाई समेत कृषि पेशामा लाग्न प्रेरणा दिएको स्थानीय माधव ढुङ्गाना बताउँछन्।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००