२ बैशाख २०८१, आइतबार । April 14, 2024

मुख्य खबर

श्रमदानमार्फत सडक निर्माण



तेह्रथुम, २७ माघ । गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् ।
गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताए।
“धेरैतिर माग गरियो, तर कसैले सुनेनन,” उनले भने । सडक नहुँदा गाउँमा खाद्यान्न लगायत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएको वस्तु अन्यत्र पठाउन गाह्रो भएको छ । फूलबारीमा ३० घर परिवारको बसोबास रहेको छ ।
महिनाको पहिलो र तेस्रो शनिबार श्रमदान गर्ने गरिएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउँछन् । अहिले करिब दुई किलोमिटर सडक निर्माण भइरहेको छ । निर्माण थालिएको डुम्रिबोटे, फूलबारी हुँदै फ्याक जोड्ने सो कृषि सडक श्रमदानबाटै निर्माण गर्ने स्थानीयले बताएका छन् । सडक निर्माणपछि फूलबारीबाट सदरमुकाम म्याङलुङ तथा शुक्रबारे बजार आवतजावत गर्न सहज हुनेछ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००