१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

अमृताले पढ्ने भइन्



महोत्तरी, २७ माघ । दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन् । बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश कापरले आफ्ना १९ वर्षीया छोरी अमृताकुमारी कापरको विवाह समारोहमा ज्वाइँलाई एक थान लैनो भैँसी दिन नसक्दा बेहुलाका बुबा तथा बेहुलाले अमृतालाई छोडेर गएपछि विवाह रोकिएको थियो ।
उनलाई पढनका लागि काठमाडौँको सिद्धार्थ बिजनेस् गु्रपको साकार नामक संस्थाले सघाएको छ । सिद्धार्थ बिजनेस् ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले अमृतले जति पढे आफ्नौँ बिजनेस् गु्रपले पढाइ दिने बताएका छन् । उनलाई घरमै पुगेर बिजनेस गु्रपले पहिलो चरणमा रु १५ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।
अमृताले पढेर नर्स बनेर समाज सेवा गर्ने रहर पालेकी छन् । गरिबीको कारण कक्षा ९ सम्म मात्र पढ्न सकेकी अमृताका बुबाले छोरीको विवाह गर्न खेत बेचेर ज्वाइँलाई मोटरसाइकल, नगद र सरसामान गरी रु चार लाख ५० हजार दाइजोमा खर्चिएको थियो । अमृताको घटना बुझ्न उनको घर पुगेकी अन्तर पार्टी महिला सञ्जाल बर्दिवासका अध्यक्ष सारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लँडाइ लड्ने बताउएएको छ । अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई क्षतिपूर्तिबापत दिलाउनु पर्ने उनले माग गरे ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००