१० बैशाख २०८१, सोमबार । April 22, 2024

खेलकुद

खेल पूर्वाधारको अवस्था दयनीय



बागलुङ, २७ माघ । जिल्लाको खेलकुद क्षेत्र योजनाविहीन अवस्थामा छ । खेलकुद विकासको जिम्मा लिएको जिल्ला खेलकुद विकास समिति कर्मचारीविहीन छ । खेलकुदको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ जीर्ण छ । जिल्लामा ठूला खेल प्रतियोगिता आयोजना गर्न खेल मैदानको अभाव छ ।
कुनै खेलका प्रशिक्षक छन् त खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक छैनन् । खेलकुद गतिविधि आयोजना गर्न सधैँ बजेटको अभाव हुने गरेको छ । विसं २०६४ सम्म जिल्ला खेलकुद विकास समितिमा नायब सुब्बा र सहायक लेखापाल कार्यरत थिए । तर अहिले उक्त दरबन्दी रिक्त अवस्थामा छ ।
तत्कालीन धौलागिरि अञ्चल खेलकुद विकास समितिको नाममा रहेको करिब छ आना जग्गा जिल्ला खेलकुद विकास समितिले आफ्नो नाममा हाल्न नसकेको अध्यक्ष धनबहादुर परियार बताउँछन् । जिल्लामा खेलकुद विकासको कुनै योजना नै नभएको उनी स्वीकारछन्।
“भौतिक पूर्वाधारको अवस्था दयनीय छ,” उनले भने । समितिले रामरेखा सामुदायिक वनमा रहेको बाङ्गचौर खेल मैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । समितिको आफ्नै कार्यालय भवन र अन्य पूर्वाधार नहुँदा विभिन्न समस्या झेल्नुपरेको परियारले बताए । तत्कालीन अञ्चल खेलकुद विकास समितिको जग्गामा रहेको कभर्डहल जीर्ण छ ।
जीर्ण कभर्डहलमै अहिले टेबुलटेनिस, कराँते, उस्सु र तेक्वान्दो सिकाइन्छ । विसं २०३२ मा टेबुलटेनिसका लागि निर्माण गरिएको सो कभर्डहलमा नै अहिले सम्पूर्ण खेलको अभ्यास गराइन्छ ।
कराँते प्रशिक्षक धनराज महर्जन भौतिक पूर्वाधार र खेल सामग्रीको अभाव भएको बताउनुहुन्छ । नयाँ बहुउद्देश्यीय कभर्डहल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नयाँ कभर्डहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु १२ लाख बजेट विनियोजन गरेको छ ।
“बजेट एकदमै न्यून भयो,” समितिका अध्यक्ष परियारले भने । स्थानीय निकायले समेत खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको उनको गुनासो छ । जिल्ला विकास समिति र नगरपालिकाले मात्र आर्थिक सहयोग गरे पूर्वाधार निर्माण गर्न सकिने उनको भनाइ छ ।
खेलकुद गतिविधि सञ्चालनका लागि वार्षिक रु साढे तीन लाखसम्म प्राप्त हुने गरेको छ । समितिलाई खेल सामग्री खरिदका लागि वार्षिक रु ३० हजार र कार्यालय सञ्चालनको लागि रु ३० हजार रकम प्राप्त हुने गरेको अध्यक्ष परियारले बताए । घरभाडाबापत रु १० हजार उपलब्ध हुने गरेको छ ।
जिल्लामा हाल एक जना प्रशिक्षक तथा छ जना सहायक प्रशिक्षक रहेका छन् । कार्यालय सहयोगी समेत नहुँदा कार्यालयको कामकाज सञ्चालन गर्न गाह्रो भएको छ । जिल्लामा एथलेटिक्स, भलिबल, फुटबल, सुटिङलगायत खेलका प्रशिक्षकको एकदमै आवश्यकता छ । “सम्भावना भएका खेलका प्रशिक्षक नहुनु दुःखद् कुरा हो,” उनको भनाई छ ।
हालै पूर्वाञ्चल विकास क्षेत्रमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा अधिकांश खेलाडी बिना प्रशिक्षण सहभागि भएका थिए । सुटिङको क्षेत्रीय छनोट प्रतियोगिता गराउन जिल्लामा खेल समग्री नभएका कारण केन्द्रबाट ल्याएर ढिलो गरी प्रतियोगिता सम्पन्न गरिएको थियो ।
जिल्ला सुटिङ सङ्घका अध्यक्ष भगवती केसी जिल्लामा सुटिङको एकदमै सम्भावना रहेको बताउँछन् । ठाउँ अभावका कारण आफ्नै घरको छतमा खेलाडीलाई प्रशिक्षण दिनुपरेको उनले पीडा सुनाए । विसं २०२२÷२३ देखि प्रमोद गृह खेलकुद विकास समितिका नामबाट बागलुङमा खेलकुद गतिविधि सुरु भएको बताइन्छ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००