३ बैशाख २०८१, सोमबार । April 16, 2024

मुख्य खबर

गाईघाटमा पूर्वाञ्चलकै ठूलो बसपार्क



गाईघाट उदयपुर, २६ माघ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ ।
विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा बसपार्कमा अहिले सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै ठूलो बसपार्कको रुपमा निर्माण हुन लागेको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मलकुमार रेग्मीले बताए ।
यसअघि नै बसपार्कमा टिकट काउन्टर हाउसको निर्माण भए पनि अहिले बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतिक्षालय निर्माण कार्य सुरु भइरहेको बसपार्क निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष देवीमाया कटुवालले बताए।
बसपार्क निर्माण तथा व्यवस्थापनको अहिले सहरी विकास डिभिजन कार्यालयले तत्काल रु ४० लाख रकम उपलब्ध गराएपछि बसपार्कलाई तत्काल नक्साङ्कन गरेर निर्माण तथा व्यवस्थापन कार्य अगाडि बढाउन अनुमति दिइएको सहरी विकास डिभिजन कार्यालय उदयपुर गाईघाटका प्रमुख इन्जिनियर ब्रह्मदेव चौधरी बताउँछन्।
एघार बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्क पूर्वाञ्चलकै ठूलो क्षेत्रफल भएको बसपार्क रहेको र यसको व्यवस्थापन गर्न पनि ठूलो बजेट लाग्ने भएको कारण पनि निकै कठिनाइ भइरहेको बसपार्क निर्माण उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।
अहिले बसपार्कको माथिल्लो तीन बिगाहाको क्षेत्रमा साना सुमो तथा जिपलगायत साना सवारीका साधन पार्किङ गर्ने योजनासहित र बाँकी नौ बिगाहाको क्षेत्रफलमा ठूला सवारीका साधन पार्किङ गर्ने योजनासहित बसपार्क निर्माण कार्य सुरु भएको यसका पदाधिकारी बताउँछन् ।
सुनसरीको चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत सञ्चालन हुने सवारीका साधनलाई समेत आगामी दिनमा बृहत्रुपमा पार्किङ गर्ने लक्ष्यका साथ बरुवा बसपार्क निर्माण गर्न लागिएको बसपार्क निर्माणमा आबद्ध पदाधिकारी बताउँछन् ।

प्रकाशित : २६ माघ २०७३, बुधबार ००:००