३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

तेह्रथुम र रोल्पामा राप्रपाको नेतृत्व विवाद



तेह्रथुम, २६ माघ । एकताको अधिवेशन भनिए पनि नेतृत्वमा विवाद भएपछि तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईवटा समिति गठन भएका छन् ।
गएको मङ्सिर ६ गते राप्रपा र राप्रपा नेपाल दुई पार्टी मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राख्दै एकताको अधिवेशन तोकिएको थियो ।
मङ्गलबार देशैभरि एकताको जिल्ला अधिवेशनका क्रममा नेतृत्वमा विवाद हुँदा तेह्रथुममा भने पार्टी एक भएर अघि बढ्न नसकेको नेताले बताएका छन् । तत्कालीन राप्रपाका कार्यबाहक अध्यक्ष रहेका नेता शुभभगत प्रधानाङ्गको अध्यक्षतामा १९ सदस्यीय समिति बनेको छ भने तत्कालीन राप्रपाका अध्यक्ष र एकतापछि पनि अध्यक्ष नै रहेका नेता ललितबहादुर सोदेम्बाको अध्यक्षतामा अर्को समिति घोषणा भएको छ । प्रधानाङ्गले आफ्नो पक्षमा आधाभन्दा बढी कार्यकर्ता रहेको दाबी गरेका छन् ।
उनलाई तत्कालीन राप्रपा नेपालका जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फे, गौरी कन्दङवालगायतको समर्थन छ । यता सोदेम्बाले भने केन्द्रीय सदस्य भूमिका तुम्बाहाम्फे र होमभक्त कुरुम्बाङको उपस्थितिमा आफूलाई अध्यक्ष घोषणा गरेका छन् । उनलाई तत्कालीन राप्रपा नेपालका सचिव केशव ढुङ्गानासहितका केही कार्यकर्ताको समर्थन छ भने उनले टङ्क अधिकारीलाई सदस्यमा चयन गरेको र बाँकी आज मात्रै चयन गर्ने बताएका छन् ।
पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्न यसअघि नै निर्वाचन समिति बनाएको थियो । तर मङ्गलबार अधिवेशनको क्रममा नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न प्रयत्न भए पनि सहमति नजुटेको र निर्वाचन प्रक्रियामा समेत नेता ललितबहादुर सोदेम्बाको समूह सहभागी नभएपछि प्रधानाङ्गको अध्यक्षतामा रहेको समिति घोषणा गरिएको निर्वाचन समितिका संयोजक इन्द्र भण्डारीले बताए।
प्रधानाङ्गको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा नरेन्द्र सापकोटा, डिल्ली उप्रेती, सचिवमा गौरीप्रसाद कन्दङ्वा, सहसचिवमा दीपक सोदेम्बा, कोषाध्यक्षमा ईन्द्रप्रसाद कोइराला, सदस्यमा रमा प्रधान, युवराज गौतम, गुमानसिंह कार्की, फत्तेबहादुर बस्नेत, धनराज कन्दङवा, रेजिना आमगाई, चक्रहाङ सेन्दाङ, याम मैनाली, जनार्दन पौडेल, राधिका खड्का, यमुना ठकुरी र पुष्प खड्का रहेका छन् ।
“कार्यकर्ताको माझमा गएर वा सहमति गरेर नेतृत्व चयन गरौँ भनी मैले दुवै बाटो खुला गरेको थिएँ,” अध्यक्ष प्रधानाङ्गले भने, “तर कार्यकर्ताको भावना विपरीत म पनि जान सकिनँ, निर्वाचनमा जाऔँभन्दा उहाँहरु मान्नुभएन ।”
रोल्पा– यसैगरी, एकताको अधिवेशन गर्ने भनिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पामा पनि दुई समानान्तर समिति गठन भएका छन् ।
माघ २५ गते देशभर एकै पटक जिल्ला अधिवेशन गरी एकताको सन्देश दिन खोजेको भएपनि राप्रपा रोल्पाले भने त्यस्तो सन्देश दिन असमर्थ भएको छ ।
लामो समयसम्म सहमतिका लागि प्रयास गरिएपनि एक पक्षको उम्मेदवार अर्को पक्षले स्वीकार गर्न नसकेका कारण अन्तिममा छुट्टाछुट्टै भेला गरी दुईवटा जिल्ला कार्य समिति गठन गरेका दुवै समूहले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
रोल्पा उद्योग वाणिज्य सङ्घको हलमा आयोजित पूर्व राप्रपा सम्मिलित प्रतिनिधिले अमरबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
यसैगरी, केन्द्रीय सदस्य दलवीर पुनः निवासमा पूर्व राप्रपा नेपाल पक्षधरले टीकाबहादुर ओली अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
पूर्व राप्रपा पक्षधरको भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालाराम घर्ती र केन्द्रीय सदस्य वीरसिं ठकुुरीको उपस्थिति रहेको थियो भने पूर्व राप्रपा नेपाल पक्षधरको भेलामा केन्द्रीय सदस्य दलवीर पुनको उपस्थिति रहेको थियो । दुवै पक्षले आ–आफ्नो समूह आधिकारिक भएको दाबी गरेका छन् ।

प्रकाशित : २६ माघ २०७३, बुधबार ००:००