८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन



काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ६७ आँै राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
फागुन ६ गते काठमाडौँ उपत्यकाकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् व्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृहमन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।
फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले विगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा सहिदको आत्माको चीरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ ।
टुँडिखेलमा आयोजना हुने ६७ आँै राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका एवम् प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधासनियक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीहरुलगायतको उपस्थिति रहनेछ ।
राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जङ्गी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्यरुपमा कार्यक्रम मनाउने बैठकले निर्णय गरेको छ ।
बैठकले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ ।
बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन गठन गरिएको समिति र कार्यक्रमबारे जानकारी गराएको थियो । १०४ वर्षे जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन २००७ फागुन ७ गतेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
बिदा र दिवस घटाउन आवश्यक–प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले नेपालमा बिदा र दिवस धेरै भएको भन्दै यसलाई घटाउनुपर्ने सुझाव दिएको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक विकासमा पछि तर बिदामा सबैभन्दा अघि हुने स्थिति आउनु बेठीक भएको टिप्पणी गरे ।
प्रचण्डले भने, “हामीकहाँ क्रान्ति पनि धेरै नै भए । २००७ साल, २०२८ साल, २०४६ साल, २०५२ साल, २०६३ सालमा क्रान्ति भएको छ । सबै जातजाति भाषा संस्कृती पनि हाम्रा धेरै भए । तिनलाई पनि बिदा दिनुपर्ने अवस्था रहेकाले यस विषयमा गम्भीररुपमा समीक्षा गर्ने बेला आयो ।’’
उहाँले सबैका लागि कुनै निश्चित दिनलाई साङ्केतिक दिनमा आफ्नो पर्व मनाउने भन्ने बारेमा सबैलाई सोच्न आग्रह गरे ।
बिदा र दिवस बढी हुँदा कार्य दिन घटेर आएकामा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । “सरकार यस्तो भएको छ कि जस्ले आएर जोडबल गरेर दिवस दिन प¥यो भन्यो त्यसलाई दिवस र बिदा दिने ।”
प्रधानमन्त्रीले प्रजातन्त्र दिवस निरस र औपचारिक जस्तो मात्रै नभई जनताको जीवन्त सहभागिता हुन आवश्यक रहेको बताए ।
दिवसको दिन जनसहभागिता बढाउन आवश्यक पहल गर्न स्थानीय विकास मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन समेत दिए ।
निर्वाचन आयोगको निर्वाचन दिवससमेत फागुन ७ गते नै परेकाले दुबैलाई समानान्तररुपमा होइन, प्रजातन्त्र दिवसको पुरकको रुपमा मनाउन सुझाव दिए ।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००