१४ चैत्र २०८०, बुधबार । March 27, 2024

ग्लोबल

एक हजार छ सय विदेशीलाई ‘चिनियाँ ग्रीन कार्ड’ वितरण



बेइजिङ (चीन), २३ माघ । चीनले सन् २०१६ मा एक हजार ६०० विदेशीलाई स्थायी बसोबासका लागि अनुमतिपत्र ‘ग्रीन कार्ड’ वितरण गरेको चिनियाँ ‘पब्लिक सेकुरिटी’ मन्त्रालयले जनाएको छ ।

चीनले सन् २०१५ को सेप्टेम्बरदेखि आप्रवासी सम्बन्धी नीतिमा परिवर्तन गर्दै स्थायी बसोबासका लागि अनुमति दिने प्रक्रियालाई सजिलो पारेको थियो । यससँगै सन् २०१६ मा विदेशी नागरिकलाई प्रदान गरिएको स्थायी बसोबासको अनुमति १६३ प्रतिशतले वृद्धि भएको मन्त्रालयद्वारा हालै जारी विज्ञप्तिमा जनाइएको छ ।

ग्रीन कार्ड पाएका विदेशीले चीनमा चिनियाँ नागरिकले सरह लगानी, घर जग्गा खरिदलगायतका अधिकार उपभोग गर्न पाउने छन् ।

ग्रीन कार्ड सम्बन्धी नयाँ कानुन आएसँगै सो सुविधा लिनका लागि निवेदन दिने विदेशीको सङ्ख्यामा छ गुणाले वृद्धि भएको मन्त्रालयले बताएको छ ।

नयाँ आप्रवासी सम्बन्धी कानुनसँगै बेइजिङमा ग्रीन कार्डका लागि निवेदन दिनेको सङ्ख्यामा सन् २०१५ को तुलनामा गत वर्ष ४२६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१६ मा चीनमा पाँच करोड ६५४ लाख विदेशी पर्यटक पुगेका थिए । यो सन् २०१५ को तुलनामा ८.९ प्रतिशतले बढी हो ।

चीनका १५ सहरमा केही मुलुकलाई ७२ घण्टाको ‘भिसा फ्री’ यात्राका लागि अनुमति दिने गरिन्छ । साङघाई, जियाङ्सु र झेझियाङले भने १४४ घण्टे भिसा फ्री भ्रमणको व्यवस्था गरेको छ । तर यो सुविधा विश्वका केही मुलुकका लागि भने मात्रै लागू गरिएको छ ।

प्रकाशित : २३ माघ २०७३, आइतबार ००:००