१० बैशाख २०८१, सोमबार । April 22, 2024

अर्थ

विद्यालयलाई रु ९१ लाख सहयोग जुट्यो



म्याग्दी, २० माघ । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई समुदाय स्तरबाट रु ९१ लाख सहयोग प्राप्त भएको छ ।

विद्यालयमा बुधबार सम्पन्न म्याग्दी बेनी तातोपानी शैक्षिक, धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमार्फत नगद रु ९१ लाख सहयोग जुटेको हो । विद्यालयमा प्राविधिक शिक्षाको विस्तार गर्ने, निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन, नमुना पुस्तकालय स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले माघ १३ गतेदेखि महायज्ञ सुरु भएको थियो ।

पण्डित नारायणप्रसाद न्यौपानेले कथावाचन गर्नुभएको महायज्ञमा स्थानीय बासिन्दा, पूर्वविद्यार्थी, विभिन्न सङ्घसंस्थाबाट सो सहयोग प्राप्त भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिनुभयो । “नगद मात्र ९१ लाख रुपैयाँ प्राप्त भएको हो, जिन्सीसहित करिब डेढ करोड पुग्छ”, उनले भने।

तातोपानी कुण्ड व्यवस्थापन समितिले रु सात लाख, दीर्घबहादुर थापाले दुई लाख दुई हजार १२ र मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले एकलाख ५१ हजार एकसय ११ रुपैयाँ सहयोग गरेका छन्। सांसद नवराज शर्मा र नरदेवी पुनले सांसद विकास कोषको दुई लाख रुपैयाँ पूर्वाधार निर्माणका लागि उपलब्ध गराउने घोषणा गरेका छन् ।

महायज्ञको अवसरमा तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले रु ३० लाख मूल्य बराबरको करिब दुई रोपनी जग्गा दान गरेका छन्।

सत्रजना शिक्षकशिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हँुदै आएको छ । विद्यालयमा तीनसय २० जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । महायज्ञको अवसरमा धार्मिक कथा वाचनका साथै योग शिविर, शालिग्राम परिक्रमा, पूजाअर्चना, कलश यात्रा, भजनकीर्तन लगायतका कार्यक्रम गरिएको थियो । रासस

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००