७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

छ महिनामा १७ प्रतिशत बिकास बजेट खर्च



चितवन, १८ माघ । चालु आर्थिक वर्षको छ महिनामा जिल्लामा विकास निर्माणका लागि निकासा भएको बजेटको १७ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ ।
पुस मसान्तसम्ममा पँुजीगततर्फ रु ६८ करोड ४५ लाख ६२ हजार ५६७ मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पुँजीगततर्फ रु तीन अर्ब ९१ करोड, ९५ लाख १७ हजार निकासा भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल गङ्गा विश्वकर्माका अनुसार यस आवमा सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक योजनाको ११ दशमलव ३६ प्रतिशतमात्र खर्च भएको छ । सो आयोजनाको रु एक अर्ब ५५ करोड ६६ लाख सात हजार बजेट निकोसा भएकामा रु १७ करोड ६९ लाख ३६ हजार ३४३ मात्र खर्च भएको छ ।
यस्तै दोस्रो ठूलो बजेट रहेको डिभिजन सडक कार्यालयको ४५ दशमलव ७८ प्रतिशत खर्च भएको छ । सो कार्यालयको रु ६३ हरोड ८८ लाखमध्ये हालसम्म रु २९ करोड २४ लाख ५८ हजार खर्च भएको छ । जनताको तटबन्धको रु २४ करोड बजेटमध्ये रु ४९ लाख ७० हजार मात्र खर्च भएको छ । जुन दुई प्रतिशतमात्र हुन आउँछ ।
गत आवको छ महिनामा ८ दशमलव ४७ प्रतिशत मात्र खर्च भएको थियो । गत वर्ष पुस मसान्तसम्मका लागि रु चार अर्ब ५९ करोड ३६ लाख ६१ हजार बजेट निकासा भएकामा रु ३८ करोड ९१ लाख ७७ हजार मात्र खर्च भएको थियो । गत वर्ष सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक आयोजनाले ११ दशमलव ७३ प्रतिशतमात्र खर्च गरेको थियो । गत वर्ष सो आयोजनाको रु एक अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट रहेको थियो ।
जिल्लाका अधिकांश कार्यालयले आवको अन्त्यतिर मात्र निकासा भएको बजेट खर्च गर्ने गर्छन् । ढिला गरी काम गर्दा अनुगमन कम हुने र कामको प्रभावकारिता समेत कम हुने गर्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास बजेट समयमा नै सही सदुपयोग हुने गरी खर्च गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए । ती क्षेत्रको अनुगमनका लागि छुट्टै संयन्त्र बनाएर काम थालिने उनको भनाइ छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००