१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

अझै पनि दुई घन्टा पैदल हिँडेर विद्यालय



काभ्रे, १८ माघ । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् ।
“विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको सामना गरेरपनि त्यहाँसम्म जानुपर्ने बाध्यता छ ।”
बालुवापाटी गाविसका २, ७, ९ वडाका विद्यार्थी आर्थिक अबस्थाका कारण सहरसम्म गएर पढ्ने अवस्था नभएकाले टाढा भएपनि नगरकोटसम्म गएर पढ्न बाध्य भएका हुन् ।
बालुवापाटी–२ स्थित श्री सेतीदेवी प्रावि करिब आठ वर्षदेखि बन्द भएकाले त्यहाँका साना बालबालिकासमेत नगरकोटसम्म पढ्न जान बाध्य भएका हुन् ।
गाउँमा विद्यालय नहुँदा आठ वर्षीय बालुवापाटी–९ की आयुशा ढकाल नगरकोटमा रहेको सनराइज बोर्डिङ स्कुलमा पढ्न जान्छिन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलमा पुग्न ढिला भए स्कुलको ढोका नै बन्द हुने भएकाले घर फर्कनुपर्दा समय त्यसै खेर जाने बताइन् ।
हाल सो क्षेत्रमा विदेशीको सहयोगमा सञ्चालित सामुदायिक शिक्षा नामक विद्यालयमा एलकेजीसम्म पढाइ हुँदै आएको र अर्को वर्षदेखि कक्षा एकसम्म पढाइ हुने भएको छ । सो विद्यालयलाई सरकारी विद्यालयको रुपमा परिणत गर्ने पहल भइरहेको नगरहोम नेपाल नामक संस्थाका सदस्य उद्धव ढकाल बताउँँछन्।
गाउँमा विद्यालय नहुँदा अभिभावकसमेत चिन्तित छन् । हुनेखाने परिवारले छोराछोरीलाई सहरमा पढ्न पठाउने गर्छन् भने नहुनेले टाढाभएपनि पढ्न पठाउन बाध्य छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउन बाध्य भएको बालुवापाटी–२ की भागिरथी घोरसाइनको भनाई छ ।
गाविसको तथ्याङ्कअनुसार उक्त गाविसमा जम्मा ८७ प्रतिशत जनजातिको बसोबास छ भने अन्य जाती क्षेत्री १३ प्रतिशतमात्र छन् ।
त्यस्तै उक्त जातिहरुको शिक्षामा पहुँच जनजातिको जम्मा प्रतिशतमध्ये १३ प्रतिशत मात्र छ भने अन्य जातीको जम्मा प्रतिशतमध्ये सात प्रतिशतको मात्र शिक्षामा पहुँच रहेको छ । गाउँमै विद्यालयको अभावका कारण त्यस्तो अवस्था भएको गाविसका गाविस सचिव मकुन्द गजुरेल बताउँछन् । साथै गाउँमै भएको सेतीदेवी प्रावि विगत लामो समयदेखि बन्द रहेको र उक्त विद्यालयमा कार्यरत दुई शिक्षकको दरबन्दी अझै खारेज भइनसकेकाले उक्त विद्यालयलाई पुनःसञ्चालन गरेर शिक्षकलाई त्यही काम गराउने वातावरण तयार गर्न पहल भइरहेको उनको भनाई छ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००