१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

किस्ताबन्दीको राहतले द्वन्द्वपीडितलाई सास्ती



रोल्पा, १८ माघ । सशस्त्र द्वन्द्वको समयमा भौतिक तथा मानवीय क्षति पुगेकालाई सरकारले उपलब्ध गराउँदै आएको राहत रकम किस्ताबन्दीमा दिँदा झन सास्ती भएको द्वन्द्वपीडितले गुनासो गरेका छन् ।

जिल्लामा हाल राहत पाउने द्वन्द्वपीडितको सङ्ख्या चार हजार ९०० रहेको स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिनुभयो । राहत पाउनेमध्ये हालसम्म ९४६ मृतक, ३३ बेपत्ता रहेका छन् । उनीहरुको परिवारलाई जनही रु पाँच लाखसम्म राहत दिएको बुढाले बताए।

यसैगरी, जिल्लामा पति गुमाएका एकल महिलाको सङ्ख्या ३२३, टुहुरा बालबालिकाको सङ्ख्या १८०, घाइते अपाङ्ग ५९५, अपहरण २०१, जीवन निर्वाह भत्ता पाउने ७७, विस्थापित एक हजार ९४१ र छात्रवृत्ति पाउनेको सङ्ख्या ५९७ रहेको बताइएको छ ।

राहत रकम सरकारले किस्ताबन्दी रुपमा दिँदा थप सास्ती भोग्नुपरेको द्वन्द्वपीडितको गुनासो छ । राहत रकम एकै पटक उपलब्ध भए जीविकोपार्जनका लागि ठूलै काम गर्न सकिने भएपनि किस्ताबन्दी रकमले परिवारमा द्वन्द्व बढाएको द्वन्द्वपीडित कुमार शाहले बताए।

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा राज्य र विद्रोही पक्षबाट प्रभावित भएको भन्दै राहतका लागि पहिलो चरणमा निवेदन दिएकाको सङ्ख्या १५ हजार ४२६ रहेपनि जिल्ला प्रशासन कार्यालय रोल्पाले राहतका लागि ११ हजार ६५ जनाको नाम मात्र सिफारिस गरेको बताइएको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००