११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल



काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन्।
नेपाल टेलिभिजन एनटिभीको ३२ औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधानको संशोधनसँगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
“हामी संविधान कार्यान्वयनको अत्यन्त महत्वपूर्ण चरणमा छौँ, संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ, संविधान कार्यान्वयनसँगै सिङ्गो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ”–प्रचण्डले भने।
२०४१ सालमा परियोजनाको रूपमा स्थापित भई २०४२ सालबाट नियमित प्रसारण सुरू गरेको नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जाने विश्वास गरेका छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैँ सम्मान गर्दै आएको समेत प्रस्ट पारेका छन्।
नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको शुभारम्भ गर्दै आमजनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
त्यसैगरी टेलिभिजन डिजिटललाइजेसनको शुभारम्भ गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले डिजिटलाइजनसँगै नेपाल टेलिभिजनको गुणस्तरीयतामा समेत विस्तार हुने विश्वास व्यक्त गरे।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सहर केन्द्रितभन्दा पनि ग्रामीण क्षेत्रका विशेषगरी उत्पीडित समुदायका सवाललाई आम सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिए।
मुख्यसचिव डा सोमलाल सुवेदीले नेपाल टेलिभिजनले व्यावसायिक प्रतिस्प्रर्धासँगै दुरदराजका मानिसका अनुहारलाई टिभीसम्म ल्याउनुपर्नेमा जोड दिए।
सञ्चार सचिव महेन्द्रमान गुरूङले आमसञ्चार नीति २०७३ को आधारमा सञ्चार मन्त्रालयले सरकार मातहतका सञ्चार माध्यमको नीति बनाउने तयारी गरिरहेको जानकारी दिएका छन्।

नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष महेश दाहाल र नेपाल पत्रकार महासङ्घ, टेलिभिजन शाखाका अध्यक्ष शालिक सुवेदीले कर्मचारीको वृद्धि विकासमा जोड दिए।
वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा ३० वर्ष अवधि पूरा गरेका १२ जना कर्मचारीलाई स्वर्णपदक र २० वर्ष सेवा अवधि पूरा गरेका २६ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।
त्यसैगरी टेलिभिजनमा कार्यरत भरत शर्मा पाल्पा, विधुर खवास धनकुटा, हिरालाल चौधरी सिराहा, मन्दिरा थापा दोलखा र शिव सिलवाल धादिङलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००