१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

पश्चिमी वायुले देशभर वर्षात्



काठमाडौँ, १४ माघ । पश्चिमी वायुको प्रभावका कारण आज देशभर वर्षात् भएको छ ।

उक्त वायुको प्रभावले पश्चिम भेगबाट वर्षात् सुरु भएको र आज मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

“पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पश्चिम भेगबाट वर्षा हुन सुरु भएको हो, त्यसको प्रभावले आज देशका अधिकांश भेगमा वर्षात् भएको छ, मध्य र पश्चिमका उच्च हिमाली भेगमा भारी हिमपात र पूर्वी भेगमा सामान्य हिमपात हुने सम्भावना छ,”– उनले भने ।

पश्चिमी वायुको प्रभाव आज रातिसम्म कमजोर हुने र शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् श्रेष्ठको भनाइ छ ।
आज सबैभन्दा बढी तापक्रम विराटनगरमा २८ र सबैभन्दा कम जुम्लामा १ डिग्री सेल्सियस रहेकोे छ । काठमाडौँको अधिकतम तापक्रम १४ र न्यूनतम तापक्रम ९।४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिकूल मौसमले उडान प्रभावित

मौसम बदलीका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको उडान प्रभावित भएको छ ।

प्रतिकूल मौसमले विमानस्थलमा विमान उडान र अवतरणमा केही समस्या आएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

“मौसम खराबीले उपकरणको माध्यमबाट विमान उडान र अवतरण गरियो, दिउँसो एक हजार ६०० मिटर मात्र भिजिबिलिटी थियो, जसका कारण विमान आधा घन्टासम्म आकासमै अडिने ‘होल्ड’ गर्नुप¥यो,”– उनले भने ।

मौसम प्रतिकूल भए पनि नियमित उडान भएको र कुनै पनि उडान रद्द नभएको विमानस्थलले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००