१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी भेटिए



बर्दिया १४ माघ । कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिए। ८८ जनामध्ये २२ जनामा एमबी र ६६ जनामा पिबी देखिएको छ । पिबी भने कुष्ठरोगको जीवाणु अत्यधिक रहेकोलाई जनाउँछ । तीमध्ये सातजना बालबालिका रहेका छन् । बालबालिकामा एकमा एमवी र ६ जनामा पिबी देखिएको छ ।

दोस्रो दिनसम्म ३३ जना नयाँ कुष्ठरोगका बिरामी रहेपनि दिनहुँ कुष्ठरोगका बिरामी बढिरहेका छन् । कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँचदिने अभियान सुरु भएको हो । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् । सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो ।

कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्य खोजपड्ताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० देखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछि कुष्ठरोग निवारणका लागि अभियान थालिएको खोजपड्ताल कार्यक्रम केही दिन अझै लम्बिने बताईएको छ ।

कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमबारदेखि सुरु भएको हो । रासस

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००