१२ बैशाख २०८१, बुधबार । April 24, 2024

ग्लोबल

काश्मिरमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दश पुग्यो



श्रीनगर । भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा १० जना भारतीय सेनाको मृत्यु भएको छ ।

भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने सात जनालाई सकुशल उद्धार गरिएको छ ।

त्यसैगरी गस्तीमा रहेका अन्य सात सैनिकको पनि सोही हिमपहिरोमा परी मृत्यु भएको भारतीय सेनाका कर्नेल राजेश कालियाले बताए ।

उहाँका अनुसार तीन सैनिक अधिकारीको शव बुधबार हिउँबाट निकालिएको थियो भने थप चार जनाको शव बिहीबार निकालिएको छ ।

उक्त क्षेत्रमा हरेक वर्ष चिसो याममा पर्ने हिउँ र हिमपहिरोका कारण हरेक वर्ष दर्जनौँ भारतीय तथा पाकिस्तानी सेनाको मृत्यु हुने गर्छ ।

सोही क्षेत्रमा बुधबार एकै परिवारका तीन जना भारतीय नागरिकको मृत्यु भएको थियो भने अर्को एक घटनामा एक सैनिक जवानको समेत मृत्यु भएको थियो ।

भारतीय मौसमविद्ले उक्त क्षेत्रमा आगामी दुई दिनसम्म भारी हिमपात हुने जनाएपछि भारतीय अधिकारीले हिमपहिरोको जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थलमा जान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००