११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

संविधान कार्यान्वयन गर्न दलहरु एक हुनुपर्छः सभापति देउवा



दाङ, १३ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्यन गर्न पनि एक हुनुपर्ने बताएका छन्।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले आजदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै देउवाले भने “जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अति आवश्यक छ ।”
सभापति देउवाले हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने बताए । “प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, तपाईँहरु ढुक्क हुनुहोस्, हामीहरुले चुनाव गराएरै छाड्छौँ ।” अबको एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुने उनको भनार्इ थियो ।
उनले दाङको विमानस्थलको स्तरवृद्धिका साथै विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्ने आश्वासन पनि दिए ।
महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन तथा अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्ने बताउँदै उनले निजी क्षेत्रको लगानीबिना देशको विकास नहुने भएकाले निजी क्षेत्रलाई साथै लैजानुपर्ने औंल्याए ।
सो अवसरमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब तीन दल मिल्नुको विकल्प नभएको बताए । “लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि तीन दल एक ठाउँमा आउनुपर्छ” “यो वा त्यो दल हैन, यदी हामीहरु समयमै मिल्न सकेनौं भने प्राप्त उपलब्धि सबै गुम्नेछन्, सबै दलहरु असफल हुनेछौँ ।”
यही माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न कृषि, पर्यटन र मनोरञ्जनका स्टल राखिएका छन् ।
हापुरखोला पुल शिलान्यास
यसैबीच, सभापति देउवाले आजै दाङको डुरुवा र कोटेडाँडा जोड्ने हापुरखोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् ।
रु १० करोड ५० लाख लागतमा निर्माण हुन लागेको पुल २०७५ चैत अन्तिममा निर्माण सम्पन्न गर्ने गरी एसबिए सूर्य जेवी, सुर्खेतले ठेक्का लिएको छ ।
सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमको अध्यक्षतामा देउवाको प्रमुख आतिथ्य तथा सिँचाइ मन्त्री दिपक गिरीको विशिष्ट आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै सभापति देउबाले पुल निर्माणसँगै यहाँका जनतालाई सहज हुने भएकाले समयमै पुल निर्माण गर्न आग्रह गरेका थिए । पुल निर्माणसँगै डुरुवाका वडा नं १, २ र ४ जोडिनेछन् ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००