१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

समाचार

दुई हजार क्विन्टल धान खरिद



विराटनगर, १३ माघ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरले अहिलेसम्ममा दुई हजार ६ सय ४० क्विन्टल धान खरिद गरेको छ ।
कार्यालयले यस वर्ष पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । किसान धान बिक्रीका लागि आकर्षित नहुँदा लक्ष्यअनुरुपको धान खरिद हुने सम्भावना क्षीण बन्दै गएको कार्यालय प्रमुख सुरेश ढकालले बताए। कार्यालयले प्रतिक्विन्टल रु दुई हजार १० मा सोना मनसुली धानको मूल्य निर्धारण गरेको छ । व्यापारीले सोभन्दा बढी मूल्यमा किसानसँग धान खरिद गर्ने गरेका कारण किसान धान बिक्री गर्न उदासिन देखिएका हुन् ।
धान खरिद गरेर संस्थानले चामल बनाएर कोसी अञ्चलका विभिन्न पहाडी जिल्लाका उपभोक्ताका साथै कारागारमा चामल बिक्री गर्दैआएको थियो । कार्यालय प्रमुख ढकालले चामल बनाएर कनिका नमिसाइएको गुणस्तरीय चामल बिक्री गर्ने गरेपनि उपभोक्ताले कनिका मिश्रित चामल सस्तोमा पाएका कारण संस्थानको चामल खरिद गर्न नचाहेको बताए । फागुन महिनासम्ममा लक्ष्यअनुरुप धान खरिद गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००