१२ बैशाख २०८१, बुधबार । April 24, 2024

ग्लोबल

सहिद धर्म भक्त माथेमाको स्मरण



काठमाडौँ, १३ माघ । सहिद सप्ताहअन्तर्गत आज धर्मभक्त माथेमाको स्मरण गरिएको छ ।
जहानियाँ राणा शासनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको भन्दै उहाँलाई राणाशासकले विसं १९९७ माघ १३ गते सिफलस्थित बकैनाका रुखमा फाँसी दिएका थिए । सोही रुख नजिकै उहाँको सालिक स्थापना गरिएको छ । उक्त सालिकमा आज परिवारजन, आफन्त, इष्टमित्र तथा अन्य सहभागीले माल्यार्पण गरेका थिए ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा पूर्वराजदूत प्रा. केदारभक्त माथेमाले धर्मभक्तले राजा त्रिभुवनको व्यायाम शिक्षक बनी राजा र जनता बीचको सन्देश आदानप्रदान गरि प्रजातन्त्र स्थापनाका लागि आफूलाई बलिदान गर्नुभएको बताए ।
कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सहिद माथेमाले देखाएको त्याग र निष्ठाको बाटोलाई राजनीतिकर्मीले अवलम्बन गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।
विसं १९६६ असोज ९ गते स्थानीय ॐबहालमा जन्मनुभएका धर्मभक्तले राणाशासनको आतङ्कबाट जनतालाई मुक्त गर्न विसं १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषद्को स्थापना गर्नुभएको थियो । उहाँले भारतको दार्जिलिङ र कोलकातामा अध्ययन गर्नुभएको थियो ।
काठमाडौँको लैनचौरमा प्रजा परिषद्को गोप्य बैठक बसिरहेका बेला उहाँसहित धेरैलाई पक्राउ गरिएको थियो । माथेमाका पिता आदिभक्त राणाकालीन समयमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००