जुम्ला, १३ माघ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।
प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको अस्पताल, प्रशासन, प्राज्ञिक, आर्थिक, शैक्षिक तथा दैनिक कार्यालय सञ्चालन ठप्प गर्ने कुरा सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत सहकुलपतिलाई जानकारी गराइएको बताए। “गएको असोज १४ लिखित रुपमा कार्यवाहक उपकुलपतिको जिम्मा पाएका डा धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आएका छन् । प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन, यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ, यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,” उनले भने ।
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानको सबै क्षेत्रमा अस्तव्यस्त भएको गुनासो गरे । नेतृत्व गर्ने पदाधिकारी नभएपछि जनशक्तिको अभाव पनि हुँदै गएको डा. रोकायाको भनाइ छ । यता डा सूर्यमान लिम्बूले उपकुलपति मात्र नभई रजीस्टार अस्पताल निर्देशक समेतका पदाधिकारी नहुँदा लामो समयदेखि कार्य परिषद्को बैठक बस्न नसकेको बताए । डा. लिम्बूका अनुसार प्रतिष्ठानको परिचालन तथा व्यवस्थापनमा निकै ठूलो समस्या हुँदै गएको छ ।
पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय श्ययाको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकोमा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन् ।
१३ माघ २०७३, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया