९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

शिक्षकको यातनापछि विद्यार्थी अस्पताल भर्ना



पाल्पा, १३ माघ । भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु प¥यो ।
मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् । विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ ।
रुचालले अस्पतालको श्ययाबाट भनिन्, “कुखुरा बनेर बेन्चमा बस्न थाल्दा रिङ्गटा लागेर बेहोस भएँ ।” रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् । रुचालका काका सुमित रुचालका अनुसार शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या देखिएको थिएन ।
रुचाल घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । अखिल क्रान्तिकारीका नेता विशाल ओलीका अनुसार विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको आरोप लगाए।
जिशिका पाल्पाले बिहीबार विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताए।
विद्यालयका प्रअ नारायण कुँवरलाई मोबाइलमा सम्पर्क गरी घटनाका बारेमा जानकारी लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् । गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००