२३ बैशाख २०८१, आइतबार । May 5, 2024

ग्लोबल

स्थानान्तरणका लागि पोथी अर्ना नियन्त्रणमा



पथरी (कोसीटप्पु), १२ माघ । चितवनबाट खटिएको चिकित्सक तथा प्रविधिज्ञसहितको टोलीले आज कोसीटप्पु वन्यजन्तु आरक्षबाट एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब २ बजे आरक्षमा प्रवेश गरेको टोलीले करिब दुई घन्टाको अन्तरालमै अर्नालाई नियन्त्रणमा लिएको हो ।
अर्ना स्थानान्तरणको यो पहिलो प्रयास हो । यसअघि, बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरणको अनुभव प्रविधिज्ञलाई छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार तीन वर्षको जस्तो देखिने उक्त अर्ना करिब दुई क्विन्टलको रहेको छ ।
कोसीटप्पु वन्यजन्तु आरक्षको पश्चिम सेक्टरअन्तर्गत पथरी पोष्टदेखि करिब सात किलोमिटर पर मोरिया खोलाको किनारबाट अर्ना नियन्त्रणमा लिइएको हो । अपराह्न ३ः५५ मिनेटको समयमा अर्नालाई डाट गरिएको प्राविधिक टोलिको नेतृत्व गरेको वरिष्ठ पशु चिकित्सक डा. कमल गेरैले जानकारी दिए । उनलाई प्रविधिज्ञ पुरुषोत्तम पाण्डेले सहयोग गरिरहेको छ ।
“हात्तीबाट मैले हानेको डाटगन मिस भो, अनि पैदल रहेका दीपु चौधरीले हानेको दोस्रो गोलीले नियन्त्रणमा लिन सफल भइयो”– वरिष्ठ प्राविधिक विष्णु लामाले भने । डाट गरेर अर्ध बेहोस भए पनि आवश्यक नमुना लिएर पुनः एन्टी डोज दिएर अर्नालाई खोरमा राखिएको छ ।
बिहीबार पुनः एउटा भाले र अर्काे पोथी अर्नालाई नियन्त्रणमा लिएर बिहीबार नै तीन वटा अर्ना चितवन पठाइने अर्ना लिन कोसी पुगेका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । आज नियन्त्रणमा लिइएको अर्ना १ सय ५१ सेन्टिमीटर लामो छ । अर्ना लिनका लागि अहिले यहाँ पाँच हात्ती, प्राविधिज्ञ र चिकित्सकसहितको ६० जनाको टोली परिचालन गरिएको छ । वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा डाटगनसहितको प्राविधिक टोली खटिएका छन् ।
यस्तै, हात्तीसुसारे रामनरेश दरोगाको नेतृत्वमा घेर्ने टोली, स्थानीय व्यवस्थापन र परिचालनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्रशासकीय अधिकृत रामकुमार अर्याल र चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक तथा सञ्चार एवम् सूचना समन्वयमा चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेल र कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार साह रहेका छन् । अर्ना नियन्त्रण टोलिमा निकुञ्ज विभागका इकोलोजिष्ट लक्ष्मण पौडेल पनि सरिक छन् ।
कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार साहका अनुसार अर्नाको वंश विस्तारका लागि चितवनमा अर्ना स्थानान्तरण गर्न लागिएको हो ।
स्थानीय संरक्षणकर्मी राजकुमार सिंहले आफूहरुको विरोध रहे पनि वंश विस्तार हुने आशामा लैजान दिइएको बताए । कोसीमा ४ सय ३२ अर्ना छन् । कुल पाँच भालेसहित २० वटा अर्ना कोसीबाट ल्याउने निर्णय भए पनि पहिलो चरणमा तीन वटा मात्रै लगेर यही माघ १४ गते चितवन निकुञ्जको पूर्वी सेक्टर पदमपुरमा सार्वजनिक गर्ने तयारी छ । त्यसपछि २५ वटा बाह्रसिङ्गे शुक्लाफाँटाबाट चितवन ल्याइनेछ । तिनीहरुलाई राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ । रासस

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००