भक्तपुर, १२ माघ । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४÷०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।
आज मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व ०७४÷०७५ मा आन्तरिक आयतर्फ रु सात करोड २६ लाख ७५ हजार र केन्द्रिय अनुदान तथा बाह्य स्रोतसमेत गरी रु १८ करोड २२ लाख १४ हजार, जनसहभागितामा रु दुई करोड ५३ लाख १० हजार, राजस्व बाँडफाडतर्फ रु एक करोड ५४ लाख आय हुने जानकारी दिए ।
त्यसैगरी खर्चमा विकास कार्यक्रम एवम् भौतिक पूर्वाधारतर्फ रु २२ करोड २९ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ५० लाख खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । खर्चमध्ये कूल बजेटमा प्रशासनिक खर्चतर्फ रु तीन करोड ८६ लाख ५ हजार, ऐतिहासिक सम्पदा संरक्षणतर्फ रु एक करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा रु एक करोड १० लाख, बालबालिका तथा युवा लक्षित कार्यक्रममा ९४ लाख ३० हजार, आर्थिक, सामाजिकरुपमा पछाडि परेका दलित, आदिवासी, फरक क्षमता, ज्येष्ठ नागरिकका लागि रु दुई करोड ६५ लाख, वातावरणिय संरक्षण, सरसफाइ तथा व्यवस्थापनतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेलले सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न ढिलाई गर्न नहुने बताए । त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीलगायतले स्थानीय निकायको विकासका लागि नागरिक समाज र राजनीतिक दलहरूको सहयोग र साथ आवश्यक रहेको आँैल्याए ।
नेकपा(एमाले) मध्यपुर थिमि नगर समन्वय कमिटीले नगरपालिकाको २६ औँ नगरपरिषद तथा बजेट सार्वजनिक कार्यक्रम पूर्णरुपमा बहिष्कार गरेको घोषणा गरेको छ । नगरपालिकामा दलिय प्रतिनिधित्व गर्ने अन्य दलहरू कार्यक्रममा सहभागी भएपनि एमालेले भने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले गैरजिम्मेवार प्रवृत्ति, आचरण र व्यवहार गरेको आरोप लगाउँदै पार्टीका नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठले कार्यक्रम बहिष्कार गरेको बताए । रासस
१२ माघ २०७३, बुधबार ००:००
0
Shares
प्रतिक्रिया